
आफ्नो नाम, छाप र लोगो अंकित नोटबुक छापेमा कारबारही गर्ने सेण्टजोसेफ स्कूलको चेतावनी
गोरखा नगरपालिका ११ स्थित सेण्टजोसेफ स्कूलले विद्यालयलाई जानकारी नदिई आफ्नो नाम, लोगो र छाप राखेर नोटबुक छापेको भन्दै आपत्ति जनाएको छ । सो विद्यालयमा पढ्ने विद्यार्थीलेले कुनै पनि ब्राण्डको कापी प्रयोग गर्न सक्ने भन्दै यसअघि सूचना जारी गरेको भए तापनि केही स्टेशनरी पसलले विद्यालयको नाम, छाप र लोगो छापेर नोटबुक बेचेकोप्रति आपत्ति जनाएको हो ।
‘यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गर्ने कापी कुनै पनि ब्रान्डको प्रयोग गर्न सक्ने कुरा सर्वविदितै छ । विद्यालयको छाप र लोगो अंकित कापी चाहिदैन, विद्यालयबाट कापी छापेको पनि छैन र छाप्न कसैलाई अनुमति दिइएको छैन’ अत्यन्त जरुरी सूचना भनेर शनिबार जारी गरिएको सूचनामा भनिएको छ, ‘विद्यालयबाट यस सम्बन्धि सार्वजनिक सूचना शैक्षिक सत्र २०८० मा नै प्रकाशित भएको तर हाल केही पुस्तक व्यवसायीहरुबाट विद्यालयको नाम र लोगोको दुरुपयोग गरी, विद्यालयलाई कुनै पनि प्रकारको सूचना, जानकारी र अनुमति विना विद्यालयको नाम र लोगो राखी कापी छाप्ने र विक्रि वितरण गर्ने जस्ता गलत कार्य गरीरहेको सूचन प्राप्त हुन आएको छ ।
यस्ता गलत कार्य तुरुन्त रोक्नु हुन सम्बन्धित सबैमा अनुरोध छ ।’ विद्यालयका प्रधानाध्यापक सुनील इक्काद्वारा हस्ताक्षर गरिएको सो सूचनामा आगामि दिनमा यस्तो कार्य गरेको भेटिएमा तत्काल कानुनी उपचार खोज्न बाध्य हुने भन्दै सचेत गराइएको छ ।




