
गोरखाबाट १६ जना सुस्त श्रवण र ४ दृष्टिबिहिनले परीक्षा दिँदै
बिहिबारबाट सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाबाट १६ जना सुस्त श्रवण भएका(बहिरा) र ३ जना दृष्टिविहीनहरुले परीक्षा दिँदै छन् । मनकामना बहिरा आवासीय माविका १६ जना सुस्त श्रवण भएकाहरुले रत्नराज्य मावि बिरिन्चोकबाट परीक्षा दिँदै छन् । दृष्टिविहीन तीनजनामध्य शक्ति मावि केन्द्रबाट एकजना र भवानी मावि ठाँटीपोखरीको केन्द्रबाट तीनजनाले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ ।
एसईई परीक्षाको पहिलो दिन जिल्लाभर ९ जना विद्यार्थीहरु अनुपस्थित भएको कार्यालयको परीक्षा शाखाका विश्व रेग्मीले बताए । अनुपस्थित हुनेहरु सबै नियमिततर्फका परीक्षार्थीहरु रहेको उनले जानकारी दिए ।यसबर्षको एसईईमा नौवटा विद्यालयबाट १० भन्दा कम परीक्षार्थीहरु एसईईमा सहभागी छन् । उनका अनुसार एउटा नीजि, एउटा खुल्ला र सात वटा सामुदायिक विद्यालयबाट १० भन्दा कम विद्यार्थी एसईईमा सहभागी भएका हुन् ।
सबैभन्दा धेरै परीक्षा सहभागी गराउनेमध्य संस्थागत विद्यालय रहेको छ । गोरखा नगरपालिका ८ रानीवनको दि ओल्ड क्यापिटल माविका सबैभन्दा धेरै एकसय ३६ जना परीक्षार्थीहरु एसईईमा सहभागी छन् । सामुदायिकतर्फ गोनपा ८ आहालेस्थित सरस्वती माविका ९७ जना विद्यार्थीहरु सहभागी छन् ।
सबैभन्दा धेरै गोरखा नगरपालिकामा ६ वटा परीक्षा केन्द्रहरु तोकिएको छ भने चुमनुब्री गाउँपालिकामा एउटा पनि परिक्षा केन्द्र नराखिएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाको भनाइ छ । परीक्षार्थी संख्या कम रहेका कारण चुमनुब्रीमा परीक्षा केन्द्र नराखिएको कार्यालयले जनाएको छ ।




