
प्रभातकिरण माविको नवनिर्मित भवन उद्घाटन
धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । जापान सरकारको अनुदान, चाइल्डफण्ड जापानको प्राविधिक सहयोग र एकीकरण नेपालको समन्वयमा चार करोड रुपैयाँ लागतमा निर्मित भवनको बुधबार उद्घाटन गरिएको हो ।
नेपालका लागि जापानी दुतावासका चार्ज डी अफ्यर एड इन्टेरियम तामुरा ताकाहिरो तथा धार्चे गाँउपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् । साथै उद्घाटन भएको नयाँ भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
२०७२ को भुकम्पले क्षति पु¥याएको सो विद्यालयको एकिकरण नेपाल गोरखाको समन्वयमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नवर्निमित विद्यालय भवनमा आठ वटा कक्षाकोठा र ती कक्षा कोठाहरुका लागि आवश्यक भौतिक सामग्रीहरु सहित ग्याविन पर्खाल, खानेपानी, खेलमैदान निर्माण लगायतको कामहरु समेत सम्पन्न गरिएको एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।
भवन उद्घाटन समारोहमा पालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, नेपालका लागि जापानी दुतावासका चार्ज डी अफ्यर एड इन्टेरियम तामुरा ताकाहिरो, चाइल्डफण्ड जापानका कार्यक्रम निर्देशक माछाहिरो, नेपालका निर्देशक आङ पासाङ शेर्पा, धार्चे–७ का वडाअध्यक्ष राकेश गुरुङ, विद्यालयका प्रधानाध्यापक जीव बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




