
गोरखाका नमुना विद्यालयमा लगानी करोडौँ, नतिजा न्यून
प्रतिक्षा आले मगर ।
गोरखाका विभिन्न पाँचवटा विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी बर्षेनी करोडौँ अनुदान दिएको छ, तर शैक्षिक गुणस्तर प्रगति भने न्यून रहेको छ । दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेललाई नमुना विद्यालय घोषण भए ।
नमूना विद्यालयका नाममा करोडौँ खर्च भएपनि बिगत पाँच बर्षको प्रगति विवरण विस्लेषण गर्दा शैक्षिक गुणस्तरमा प्रगति देखिएको छैन । ‘यो वर्ष पैसा आउने अन्तिम वर्ष हो भन्ने सुनेको छु’, गोरखा नगरपालिका स्थित महेन्द्र माविका प्रध्यानध्यापक गोपालबाबु मरहट्टाले भने, ‘यो वर्ष १० लाख परेको छ, कार्यक्रम आएको सुरुको वर्ष पनि ५० लाख आएको थियो ।’ सो बजेट शैक्षिक गुणस्तर निर्माणका लागि खर्च गरेको उनले बताए ।
विद्यालयको भौतिक निर्माणको काम भने विभागले गरेको उनको भनाइ छ । अरु चार विद्यालयहरुले आ–आफै रकम बुझेर काम गरेता पनि महेन्द्र माविले भने केन्द्रमार्फत नै काम गराएको उनले बताएका छन् । ‘नमूना विद्यालय घोषणा भएपछि विद्यालयको मुहार फेरिएको छ’, प्रअ मरहट्टाले भने, ‘करिब १२ करोडको लागतमा स्वीमिङ पुल, सेमिनार हल, छात्र तथा छात्राको अलग अलग छात्राबास बनाउछौँ भनेका थिए तर, जम्मा सात करोड लगानी गरेर गए ।’
विभागले दिएजति आश्वासन पूरा नगरेको उनको भनाइ छ । कार्यक्रम अन्तरगत १२÷१२ कोठाको दुईवटा विद्यालय भवन, एउटा छात्राबास, व्यवस्थित शौचालयहरु, कम्प्युटर, अन्य जिन्सी सामाग्रीहरु निर्माण भएको उनले जानकारी दिए । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि विभिन्न कार्यक्रमहरु समेत संचालन भएको उनले बताएका छन् ।
सो विद्यालयमा हाल ५६४ जना विद्यार्थीहरु अध्यनरत्त छन् । सरकारले करोडौँ लगानी गरेता पनि विद्यालयको नतिजामा भने खासै सुधार देखिएको छैन् । नमुना विद्यालय कार्यक्रम आएको सुरुको वर्ष २०७४ को एसईईमा औसत २.४० जिपिए थियो । २०७५ मा २.४८, २०७६ मा २.५९, २०७७ मा २.७४, २०७८ मा २.२७ र वर्ष २०७९ मा २.२१ मात्र जिपिए ल्याएको छ । गतवर्ष २०८० को एसईई नतिजा झन घटेर जम्मा १.७२ जिपिए रहेको छ ।
वर्तमान अवस्थामा राम्रो नतिजा ल्याउनु चुनौतिपूर्ण रहेको प्रअ मरहट्टा बताउँछन् । साथै उनले सरकारले नमुना विद्यालय घोषण गरेर आवश्यक अनुगमन नगर्ने गरेको गुनासो गरेका छन् ।भिमसेनथापा गाउँपालिका १ घ्याम्पेसाल स्थित दुल्लभ माविमा पनि नमुना विद्यालय कार्यक्रम संचालन भएसँगै भौतिक निर्माणले गति लिएको छ । हाल ३२४ जना विद्यार्थी रहेको सो विद्यालयमा २ वटा ६–६ कोठे विद्यालय भवन निर्माण गर्नुका साथै विद्यालय बससमेत संचालन गरिएको प्रअ लक्ष्मणबाबु आचार्य बताउँछन् ।
‘कार्यक्रम संचालन भएको सुरुको पाँचवर्ष वार्षिक डेढ, डेढ करोडका दरले बजेट आयो । कार्यक्रमको अवधि सकिएपछि गतवर्ष ३० लाख र चालु वर्षका लागि १० लाख आएको छ’, उनले भने । नमुना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त वार्षिक एक करोड रुपैँया भौतिक पूर्वाधारमा र बाँकीको ५० लाख रुपैँया व्यवस्थापनमा खर्च गरेको उनले जानकारी दिए ।
विद्यालयको गतवर्षको एसईई नतिजा औसत ७५.८६ प्रतिशत रहेको छ । त्यसअघिका वर्षहरुमा ग्रेडिङ प्रणाली लागु भएकाले कोही विद्यार्थी फेल नभएको प्रअ आचार्यको भनाई छ । ३१५ जना विद्यार्थी पढ्ने बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले पनि सो कार्यक्रमअन्तरगत सुरुको पाँच वर्ष डेढ–डेढ करोड र गतवर्ष ३० लाख रुपैयाँ प्राप्त गरेको छ । ‘यो वर्ष पनि केही रकम आउला, हाम्रोमा विज्ञानको पढाइ हुने भएकाले निरन्तर अनुदान आउला’, प्रध्यानध्यापक बाबुराम नेपालीले भने ।
सो माविले अनुदान बापत प्राप्त चार करोड विद्यालय भवन निर्माणमा खर्च गरेको जनाएको छ । ९७ लाख बराबरको चमेना गृह, २१ लाख लागतमा विद्यालयको मञ्च र करिब १० लाखमा आईसिटि ल्याव निर्माण गरेको प्रअ नेपालीले बताएका छन् । यस्तै, विद्यालय घेराबार गर्नुका साथै एक शिक्षक एक ल्यापटप, एक कक्षाकोठा एक प्रोजेक्टर, सिसिटिभि जडान लगायतका कार्यक्रमहरु संचालन गरिएको उनको भनाइ छ ।
अन्य रकम विद्यालय व्यवस्थापनमा खर्च गरिएको उनले बताए । बजेट करोडौं खर्च गरे पनि विद्यालयको एसईई नतिजा भने खासै राम्रो देखिन्न् । नमुना कार्यक्रम आएको सुरुको वर्ष २०७५ सालमा विद्यालयले २.२५ जिपिए प्राप्त गरेको थियो । २०७६ मा २.८४, २०७७ मा ३.१४, २०७८ मा २.२० र २०७९ मा २.६५ जिपिए प्राप्त गरेको उल्लेख छ भने गतवर्ष जम्मा ०.५६ जिपिए प्राप्त गरेको छ । ‘विद्यार्थीहरुले मौका परीक्षा दिसकेपछिको नतिजा भने १.३१ प्रतिशत रहेको छ’, विद्यालयका प्रअ बाबुराम नेपालीले भने ।
३६५ जना विद्यार्थी पढ्ने अर्को नमुना विद्यालय सिरानचोक–८ जौवारीस्थित परोपकार आदर्श माविको गत वर्षको एसईई नतिजा ६४.२८ प्रतिशत रहेको छ । यस्तै, विद्यालयले २०७९ मा २.५५, २०७८ मा २.५३, २०७७ मा २.८५, २०७६ मा २.८५ र २०७५ मा २.८७ जिपिए ल्याएको थियो । नमुना विद्यालयको कार्यक्रम आएपछि विद्यालयको भौतिक निर्माणले गति लिएको प्रध्यानध्यापक हरिचन्द्र दवाडीले बताएका छन् ।
‘हामीले पनि अरुसरह नै पहिलो पाँचवर्ष डेढ–डेढ करोडका दरले अनुदान पाएका थियौँ’, उनले भने, ‘कार्यक्रम सकिएपछि गतवर्ष ३० लाख आयो, सायद अब आउँदैन होला ।’ सो बजेटबाट छात्रबास, प्रशासकीय भवन, उच्च स्तरको खेल मैदान निर्माण गर्नुका साथै विद्यालय घेराबार, प्रत्येक शिक्षकलाई ल्यापटप, स्मार्ट बोर्ड र सिसिटिभि क्यामेरा जस्ता क्षेत्रहरुमा खर्च गरेको उनको भनाइ छ । ‘नतिजा त न्युन नै छ तर पहिला लागु गरिएको ग्रेडिङ्ग पद्धतिका कारण कुनै विद्यार्थी फेल भएनन्’, उनले भने ।
जिल्लामा सबैभन्दा पछि नमुना विद्यालय घोषण भएको पालुङटार नगरपालिका स्थित अमरज्योति जनता माविमा गत वर्ष एसईई परिक्षामा ९ जना अनुत्तिर्ण भएको विद्यालयले जनाएको छ । त्यसअघिका वर्षहरुमा ग्रेडिङ प्रणाली लागु भएकाले कोही विद्यार्थी पनि फेल नभएको विद्यालयका प्रअ माधव देवकोटाले बताए ।
६३० जना विद्यार्थीहरु अध्यनरत उक्त विद्यालयमा हाल नमुना विद्यालय कार्यक्रमको चौथो वर्ष संचालन भइरहेको उनले जानकारी दिए । ‘हामीले विभिन्न भौतिक निर्माणका कामहरु गरिरहेका छौँ, जसअन्तरगत विद्यालयलाई घेराबार गर्ने काम, विद्यालयको खेलमैदान निर्माण, ग्यारेज घर निर्माण जस्ता कामहरु भइरहेका छन्’, उनले भने । कार्यक्रम अन्तरगत थुप्रै कामहरु हुनै बाँकी रहेको उनले बताएका छन् ।
‘हाम्रो विद्यालयमा विज्ञान विषयको पढाई हुन्छ, त्यसैले विज्ञान प्रयोगशालाहरु पनि निर्माण भइरहेका छन्’, उनले भने । साथै, गत वर्ष विद्यालयले जिल्लामा नै उत्कृष्ट नतिजा ल्याएको उनले दाबी गरे । नमूना विद्यालय भनेर राज्यको ढुकुटीबाट करोडौँ खर्च गरेपनि ती विद्यालयहरुको शैक्षिक प्रगति भने न्युन रहेको तथ्याङ्कले देखाएको छ ।




