| सोमवार, अशोज ११, २०८३

शक्ति माविका तीन पूर्व गुरु सम्मानित


गोरखाको सबैभन्दा जेठो हाइस्कूल शक्ति मावि पूर्व विद्यार्थी समाजले सो विद्यालयमा दीर्घ सेवा गरेका तीन पूर्व गुरुहरुलाई सम्मान गरेको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कार्यक्रमको आयोजना गरी समाजले २०२० सालभन्दा अघिदेखि विद्यालयमा अध्यापन गराएका तीनजना गुरुहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा २०१६ सालदेखि २०५८ सालसम्म लगातार ४२ बर्ष अध्यापन गराएका शिक्षक रामचन्द्र आचार्यलाई सम्मान गरिएको थियो । त्यस्तै २०१८ सालदेखि २०५५ सालसम्म ३७ बर्ष लगातार अध्यापन गराएका शिक्षक गोवद्र्धन आचार्य र २०१६ देखि २०२४ सालसम्म नौ बर्ष अध्यापन गराएका शिक्षक बाबुराम श्रेष्ठलाई सम्मान गरिएको पूर्व विद्यार्थी राजुबाबु श्रेष्ठले जानकारी दिए ।

तीनै जना गुरुहरुलाई शक्ति माविबाट पहिलो पटक एसएलसी उतीर्ण गर्ने विद्यार्थी कल्पना पाण्डेले दोसल्ला ओढाएर, माला पहि¥याएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरेकी थिइन् । पाण्डे शक्ति माविबाट एसएलसी उतीर्ण गर्ने पहिलो र एकमात्र विद्यार्थी थिइन् । उनले २०१८ सालमा सो विद्यालयबाट एसएलसी उतीर्ण गरेकी थिइन् ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष मेघबहादुर मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व विद्यार्थीहरु कल्पना पाण्डे, वसन्त मरहट्टा, किरणबाबु श्रेष्ठ, प्रेमबहादुर थापा, मीनप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सम्मान कार्यक्रमअघि दरबार हाइस्कूलबाट बाजागाजासहितको ¥याली प्रज्ञा प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएको थियो । समारोहमा २०० जनाभन्दा धेरै पूर्व विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्