
लाप्राकी नयाँ घरमा सर्ने मिति फेरि स¥यो
अनुपमा खनाल ः लाप्राकका भुकम्पपिडितलाई गुप्सीपाखामा निर्माण गरिएको नयाँ घरमा सार्ने मिति गैरआवासीय नेपाली संघ(एनआरएनए)ले फेरि सारेको छ । धार्चे ४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्ती हस्तान्तरणको मिति सारिएको हो ।
२०७३ असोज २१ गते बस्ती शिलान्यास गर्दा एनआरएनएका तत्कालीन अध्यक्ष शेष घलेले एकबर्षभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता गरेका थिए । तर २०७४ असोजसम्म काम नसकेपछि एकबर्षको भ्याद सारेका थिए । सारेको म्यादभित्र पनि बस्ती निर्माण नभएकाले २०७६ बैशाखसम्ममा लाप्राकीलाई नयाँ घरमा सार्ने योजना रहेको एनआरएनए अन्तरगतका साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । मौसमी कठिनाइ, सामान ढुवानीका लागि बाटोको समस्या तथा विकटताका कारण समयमा पुनर्निर्माण गर्न नसकिएको उनले बताए । ‘बर्षायाममा गाउँसम्म गाडी नचल्दा बजारबाट सामान ल्याउन सकिएन’ उनले भने ‘स्टक सामान पनि सकियो । थप सामान नभएपछि काम समयमा पुरा गर्न सकिएन । यहाँको मौसम पनि त्यस्तै छ । सधै काम गर्न नमिल्दो रहेछ ।’ गोरखा बारपाक सडक खण्ड अन्तरगत राङरुङको पहिरो नेपाली सेनाले हटाएकाले अब सामान ढुवानी गरेर निर्माण कार्यलाई तिब्रता दिने उनले जानकारी दिए ।
हालसम्म ७८ घरको छाना छाउने काम सकिएको छ । साईट म्यानेजर अर्यालले भने ‘अहिलेसम्म हामीले पाँचसय ७३ सबै घरको डिपिसी सकिसकेका छौं । दुईसय ३३ घरमा टूस पनि हालिसकियो, चारसय ९० घरको झ्यालमुनिसम्म इट्टा लगाउने काम भैसक्यो ।’ १६ वटा क्लस्टर बनाएर काम भैरहेको अर्यालले बताए । गुप्सीपाखामा अहिले १५४ नेपाली सेना र एनआरएन अन्तरगत ५ प्राविधिक सहित एकसय ९० जना बस्ती निर्माणमा खटिएका छन् । एक घरका लागि १५.१ घनमिटर ढुंगा र १ दशमलब २९ घनमिटर गिटी स्थानीयले उपलब्ध गराएका छन् ।
आवश्यक काठका लागि गाउँपालिकासँग समन्वय भएको अर्यालले जानकारी दिए । गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउन लागिएको हो । नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बन्नेछ । सबै एकै प्रकारका २ तले ४ कोठे घर बन्ने लाप्राक नमुना बस्ती गुरुयोजनामा उल्लेख छ । गुरुयोजना अनुसार पहिलो तला सिमेन्ट, इट्टा र बालुवाको प्रयोगले बनाइनेछ भने दोस्रो तल्लामा एसिब्लक प्रयोग गरिनेछ । टूस हालेर नीलो जस्ताको छानो लगाईनेछ । घर निर्माणका लागि आवश्यक इँटा गुप्सीपाखामा नै निर्माण गरिएको छ । १० प्रतिशत सिमेन्ट र ९० प्रतिशत माटो मिसाएर त्यही इटा उत्पादन गरिएको छ ।
स्थानीयको श्रमदान समेत गरेर प्रतिघर १२ लाख रुपैयाको लागतमा बन्ने भएको हो । अन्य संघसस्थांसँगको साझेदारीमा खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतका पुर्वाधार पनि तयार पार्ने एनआरएनएको तयारी छ । स्थानान्तरणका लागि एकिकृत बस्ती बनिरहे पनि लाप्राकीहरुले पहिरोको जोखिममा रहेको पुरानो गाउँमा धमाधम घर बनाईरहेका छन् । बस्ती निर्माणमा ढिलाई, ब्यबहारिक कठिनाई लगायतका कारण स्थानीयले पुरानै गाउँमा घर बनाउन थालेका हुन् । समुन्द्रीसतहबाट २ हजार ८ सय मिटरको उचाईमा रहेको गुप्सीपाखामा चिसोका कारण हिउँदयाममा बस्न कठिनाई हुने स्थानियको दाबी छ । खेती, गोठ लगायतका जीवनयापनका आधार पुरानै गाउँमा भएकाले पुरानो गाउँ र नयाँ बस्ती दुबै ठाउँमा पालैपालो बस्ने उनीहरुले योजना बनाएका छन् । बस्ती निर्माणमा ढिलाई भएपछि केहि दिनअघि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एनआरएनएका पदाधिकारीलाई भेटेर नमुना वस्ती पुननिर्माण छिटो सक्न आग्रह गरेका थिए ।




