| बिहिबार, कार्तिक २६, २०८३

जनयुद्धको पाठ्यसामाग्री निर्माणमा हाम्रो हात छैन : रुम टु रिड

अजिरकोट गाउँपालिकाद्वारा प्रकाशित, रुम टु रिडद्वारा सम्पादित ‘जनयुद्धको पाठ्यसामाग्री’मा आफुहरुको कुनैपनि हात नरहेको रुम टु रिड नामक गैरसरकारी संस्थाले दाबी गरेको छ । संस्थाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केही दिनअघि दरौँदी दैनिकमा प्रकाशित यस विषयको समाचारमा आफ्नो संस्थाको नाम जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘अजिरकोट गाउँपालिकाले २०८० साल पुस १८ गते चलानी नं ८७७ को पत्र मार्फत स्थानिय पाठ्यक्रम तथा पाठ्यपुस्तक विकासका लागि मागेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सोही अनुरोध अनुसार रुम टु रिडले प्राविधिक सहयोग उपलब्ध गराएको हो । पाठ्यपुस्तकको विषयवस्तु तथा विषयक्षेत्र पाठ्यपुस्तक लेखन कार्यदलका सदस्यहरुले लेख्नुभएको हो । हामीले प्राविधिक सहयोगका रुपमा बालबालिकाहरुको पठनस्तर अनुसारको भाषा सम्पादनको काम मात्र गरेका हौँ ।’

कक्षा ५ को सामाजिक चेतना विषयक्षेत्र अन्तरगतको ऐतिहासिक परिवर्तनका परिदृष्यहरु शीर्षकको पाठको विषयवस्तु छनौट, लेखन तथा अन्तिमिकरणमा आफुहरुको संलग्नता नरहेको संस्थाले स्पष्ट पारेको छ । अजिरकोट गाउँपालिकाले पनि प्रेस विज्ञप्ति जारी गर्दै सो विषयवस्तुहरुमा रुम टु रिडको कुनै पनि संलग्नता नरहेको जनाएको छ ।

पालिकाले आफुहरुले स्थानीय सरकार संचालन ऐन २०७४, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ लगायतले स्थानीय आवश्यकताका आधारमा विषयवस्तु समावेश गरी पाठ्यक्रम र पाठ्यसामाग्री निर्माण गर्ने अधिकार प्रयोग गरी उक्त पाठ्यपुस्तक तयार गरेको बताएको छ । यस्तै, पाठ्यपुस्तकमा समावेश विषयवस्तु छनोट तथा उक्त विषयवस्तु लेखनमा रुम टु रिडको संलग्नता नरहेको तथा संस्थाले आफुहरुलाई प्राविधिक सहयोग मात्र गरेको विज्ञप्तिमा भनिएको छ ।

स्थानीय पाठ्यक्रम लेखन प्रक्रियाका उठेका विषयवस्तुहरुप्रति सहमति गरिसकेको पालिकाले जनाएको छ । राजनीतिक परिवर्तनप्रतिको अपमान नगर्न र संस्कार सहितको राजनीतिक आचारण देखाउन समेत पालिकाले अनुरोध गरेको छ ।
अजिरकोटले कक्षा ५ को पाठ्यपुस्तकको पाठ १६ मा माओवादी जनयुद्धको विषयबस्तु समावेश गरेको छ ।

अजिरकोट सेरोफेरो नाम राखेर छापिएको सो पुस्तकको पेज नं. ४५ मा सामाजिक चेतना विषय क्षेत्रअन्तर्गत ‘जनयुद्ध र गणतान्त्रिक नेपाल’ शीर्षक राखिएको छ । सो पाठमा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’, ‘विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दाबाद’ लगायतका नारा लेखिएका पोस्टरहरु राखिएका छन् ।

त्यस्तै सो पाठको सुरुमै ‘जनता नै इतिहासका निर्माता हुन् – माओ’, भन्ने माओत्से तुङको भनाइ उल्लेख गरिएको छ भने जनमुक्ति सेनाका तस्वीरहरु राखिएका छन् । कक्षा ५ लाई पढाउन भनेर तयार पारिएको सो पुस्तकको अन्तिम पाठमा जनवादी राज्यसत्ता स्थापनाका लागि माओवादी पार्टीले २०५२ सालदेखि जनयुद्ध सुरु गरेको, जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेल भएको, जनयुद्धको सिलसिलामा १७ हजार भन्दा धेरैले सहादत प्राप्त गरेको लगायतका विषयबस्तु समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्