| सोमवार, अशोज ११, २०८३

गण्डकी गाउँपालिकाद्वारा विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मानित

गण्डकी गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच पालिकाले उनीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको हो । कक्षा ५, आधारभूत शिक्षा परिक्षा र माध्यमिक शिक्षा परिक्षामा पािलका भरबाट उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको गाउँपालिकाको शिक्षा अधिकृत सुदिप पन्थले बताए ।
पालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८० मा साधारणतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा अनुपा श्रेष्ठ र छात्र प्रज्ञान अधिकारीलाई सम्मान गरेको उनले जानकारी दिए । उनीहरुले क्रमश ३.४७ र ३.५५ अंक प्राप्त गरेका थिए । यस्तै, प्राविधिक तर्फ प्रमिस खनाल र करुणा पाण्डेया उत्कृष्ट अंक सहित सम्मानित भएकोे पन्थको भनाई छ । उत्कृष्ट नतिजा प्राप्त गरेका दुवैजनालाई ५÷५ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको उनले बताए ।
एसईईमा उत्कृष्ण अंक ल्याउने तीन विद्यालयहरु समेत सम्मानित भएका छन् । ५८.०७ प्रतिशत नतिजा सहित पालिकाभरबाट प्रथम बनेको गण्डकी–४ स्थित दीर्घेश्वर मावि दर्बुङ, ५० प्रतिशत नतिजा सहित दोस्रो बनेको गण्डकी–३ स्थित भैरवाश्रम मावि र ४६.० प्रतिशत नतिजा सहित तेस्रो बनेको गण्डकी–५ स्थित रत्नेश्वर मावि सम्मानित भएको हो । सो विद्यालयहरुले क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको पालिकाले जनाएको छ ।
यसैगरी पालिकाले विषयगत शिक्षकहरुलाई समेत सम्मान गरेको छ । पालिकाभर उत्कृष्ट विषयगत औसत प्राप्त गर्ने ११ जना शिक्षकहरुलाई पालिकाले २५ सय नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको हो । अङग्रेजी विषयसहित राजेश नेपाली सम्मानित भएका छन् । यस्तै, नेपाली विषयतर्फ प्रकाशबाबु श्रेष्ठ, गणितमा श्याम श्रेष्ठ, विज्ञान तथा प्रविधिमा विकास श्रेष्ठ, सामाजिक अध्ययनमा विष्णुप्रसाद पराजुली, अर्थशास्त्रमा पार्वती तिवारी, ऐच्छिक गणितमा श्याम श्रेष्ठ र शिक्षा तर्फ नेत्रलाल श्रेष्ठ सम्मानित भएका छन् । साथै, डेरी प्रडक्टतर्फ राजेन्द्र मिश्र, ऐच्छिक कृषिमा राजु थारु र ऐच्छिक लेखातर्फ सर्वोत्कृष्ट जिपिए प्राप्त गर्दै हेमनाथ मरहट्टा सम्मानित भएका हुन् ।
आधारभूत शिक्षा परिक्षा २०८० मा छात्रातर्फ उत्कृष्ट नतिजा ल्याउने गण्डकी–७ स्थित शिव आधारभूत विद्यालयकी अन्जली चेपाङ र छात्रतर्फ उत्कृष्ट नतिजा ल्याएने गण्डकी–७ कै ज्ञानमार्ग माविका सुदीप पौडेललाई पालिकाले सम्मान गरेको छ ।
यसरी नै पालिकाले आधारभूत शिक्षा परीक्षा तथा कक्षा ५ को परिक्षाको नतिजाका आधारमा उत्कृष्ट विद्यार्थी (छात्र÷छात्रा) दुवै, तीन÷तीनवटा उत्कृष्ट विद्यालयहरु र विषयगत शिक्षकहरुलाई समेत सम्मान गरेको जनाएको छ । सम्मान कार्यक्रमकै अवसरमा २०७९ को एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयहरुलाई समेत सम्मान गरिएको थियो ।
विविध कारणले अघिल्लो वर्ष पुरस्कार वितरण गर्न नपाएकाले २०७९ र २०८० को ब्याचलाई एकैपटक सम्मान गरेको पािलकाको शिक्षा शाखाले जनाएको छ । ‘शिक्षक तथा विद्यार्थीमा उत्प्रेरण जोगाउन र शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउनका लागि कार्यक्रम गरेका हौँ’, शिक्षा शाखा प्रमुख सुदीप पन्थले भने, ‘विद्यार्थी शिक्षक सम्मान कार्यक्रमलाई पालिकाको वार्षिक कार्यक्रममै समावशे गरेर संचालन गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्