
शिक्षक दरबन्दी कटौती गरेको बिरोधमा भिमसेनथापा गाउँपालिकामा तालाबन्दी
बिद्यालयमा शिक्षक दरवन्दी कटौती गरेको बिरोधमा भीमसेनथापा गाउँपालिकाको कार्यालयमा तालावन्दी गरिएको छ । वडा नम्वर १ मसेलस्थित दुल्लभ माध्यमिक बिद्यालयको हाल भइरहेको बिज्ञान बिषयको मावि दरवन्दी कटौती गरेको भन्दै आइतवार अभिभावकहरुले तालावन्दी गरेका हुन् ।
उक्त दरवन्दीमा रही बिद्यालयका सहायक प्रधानाध्यापक राजु नेपालीले बिज्ञान बिषय पढाउँदै आएका थिए । बिद्यालयको आवश्यकता नबुझी पालिकाले मनपरि ढंगले दरवन्दी कटौती गरेका कारण तालावन्दी गर्नुपरेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन गुरुङले बताए ।
‘बिद्यालयमा बिज्ञान बिषय पढाउने जम्मा दुई शिक्षक मात्र हुनुहुन्छ, फेरी बिद्यालयमा जम्मा दुई वटा मावि दरवन्दी छ,’ उनले भने, ‘बिद्यालयको आवश्यकता नबुझी त्यही जनशक्ति पनि कट्टा गरेपछि समस्या भयो ।’
बिद्यार्थी र अभिभावहरुको चाहनालाई समेत मध्यनजर गरि पालिकालाई दरवन्दी कटौती नगर्न भन्दै पटक पटक पत्राचार गरेपनि वेवास्ता गरेपछि बिरोधमा उत्रिन बाध्य भएको उनले जानकारी दिए । बिद्यालय प्रशासन र व्यवस्थापन समितिलाई समेत खवर नगरी दरवन्दी कटौती गरेको प्रति आपत्ति जनाउँदै उनले भने, ‘पालिकाको यो काम नियम सम्मत छैन, हाम्रो पटक पटकको मागलाई नजरअन्दाज गरिएको छ ।’

यही बिषयमा छलफल गर्न आइतवार पालिकाको कार्यालय जाँदा अध्यक्ष, उपाध्यक्ष र कार्यकारी लगायत अन्य कोही उपस्थित नभएपछि बाध्यताले तालावन्दी गर्नुपरेको गुरुङको भनाइ छ ।
पालिका शिक्षा शाखा प्रमुख यानबहादुर नेपालीले यस विषयमा छलफल भईरहेको बताए । छलफलका लागि आफूहरु तयार रहेको भन्दै उनले अभिभावकहरुको माग सम्बोधन हुने आश्वासन दिए ।




