
गोरखा क्याम्पसको बार्षिक उत्सवमा विभिन्न व्यक्तित्व सम्मानित
गोरखा क्याम्पसको ४७ औ बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाइएको छ । शनिवार औपचारिक कार्यक्रम गर्दै क्याम्पसले आफ्नो बार्षिक उत्सव मनाएको हो । उत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । सो अवसरमा क्याम्पसका उप–प्राध्यापक सप्तकुमार श्रेष्ठ र कार्यालय सहायक सन्तोष श्रेष्ठ सम्मानित भएका छन् ।
गत आर्थिक बर्ष २०८०/८१ को कार्यसम्पादनको मूल्यांकनको आधारमा शिक्षकको तर्फबाट सप्तकुमार र कर्मचारीको तर्फबाट सन्तोषलाई सम्मान गरिएको क्याम्पसले जनाएको छ । दोसल्ला ओढाएर नगदसहित कदर पत्रले सम्मान गरिएको क्याम्पस प्रमुख नवराज पाण्डेले बताए । त्यस्तै पूर्व क्याम्पस प्रमुख रामशरण बानियाँ र विकासकुमार श्रेष्ठलाई पनि क्याम्पसले सम्मान गरेको छ । उनीहरुलाई पनि दोसल्ला ओढाएर नगदको साथमा कदर पत्रले सम्मान गरिएको पाण्डेले जानकारी दिए ।
त्यस्तै शिक्षाशास्त्र र व्यवस्थापन संकायतर्फको स्नातक तहको प्रथम, द्धितीय, तृतीय र चौथो बर्षको परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरु पनि सम्मानित भएका छन् । व्यवस्थापन संकायतर्फ सरिष्मा गुरुङ, समीक्षा देवकोटा, धनबहादुर गुरुङ र प्रियंका श्रेष्ठ सम्मानित भएको क्याम्पसकी पुस्तकालय सहायक रेनु श्रेष्ठले बताइन् । उनका अनुसार शिक्षाशास्त्र संकायतर्फ सम्मानित हुनेहरुमा आयुषा अर्याल, शान्ति वस्ती, अशोक श्रेष्ठ र पविता घले रहेका छन् ।
कार्यक्रमको अवसरमा वक्तृत्वकला प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण पनि भएको छ । शुक्रबार आयोजित ‘गोरखाको शैक्षिक बिकासमा गोरखा क्याम्पसको योगदान’ बिषयक गोरखा नगरपालिका मावि स्तरीय प्रतियोगितामा द ओल्ड क्यापिटल माविकी प्रजिता बानियाँ पहिलो, नवज्योती माविका आरुष पण्डित दोस्रो, शक्ति माविकी अंशु पाण्डे तेस्रो भएका थिए । त्यस्तै सरस्वती माविकी कृतिका लामिछाने र मोर्डन इङ्लिस बोर्डिङका अब्दुल सोयल मियाले सान्त्वना स्थान हासिल गरेका थिए ।
क्याम्पस प्रमुख पाण्डेको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, त्रिवि कर्मचारी संघका अध्यक्ष रामचन्द्र कोइराला, त्रिवि प्राध्यापक संघका अध्यक्ष रमेश अधिकारी, गोरखा अस्पताल बिकास समिति अध्यक्ष लालप्रसाद श्रेष्ठ, चेम्वर अफ कमर्सका रामस्वरुप श्रेष्ठ, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, बिभिन्न राजनीतिक दल निकट बिद्यार्थी संगठनका प्रमुख एवं प्रतिनिधी, सहायक क्याम्पस प्रमुख बासुबाबु खत्री, शक्ति माविका प्रधानाध्यापक बद्री अर्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बिद्यार्थीहरुको सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।




