| सोमवार, अशोज ११, २०८३

‘प्राक्टिकलमा’ फेल गराएको भन्दै पालुङटारको बहुप्राविधिक शिक्षालयका प्रशिक्षक रानाभाटमाथि हातपात

पालुङटार नगरपालिका–४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटमाथि हातपात भएको छ । नेपाल बिद्यार्थी संघ निकट युवाहरुले बिहीवार दिउँसो शिक्षालय परिसरमै पुगेर उनीमाथि हातपात गरेका हुन् ।
दुई जना पूर्व बिद्यार्थी सहित आएका युवा समूहले आफूमाथि हातपात गर्दै कालोमसो दल्ने प्रयास गरेको प्रशिक्षक रानाभाटले बताए ।

‘म अमिनहरुलाइ पढाउने जियोम्याटिक्स बिभागको कार्यकक्षमा नियमित काम गर्दै थिए,’ रानाभाटले भने, ‘उनीहरु आएर पहिले प्रशासनमा गए र एक्कासी म भएको कार्यकक्षमा छिर्न खोजे ।’ प्रशिक्षकहरुले उनीहरुलाई रोक्न खोज्दा जवरजस्ती कार्यकक्षमा छिरेर आफूमाथि हातपात गर्दै कालोमोसो दल्ने प्रयास गरेको रानाभाटले जानकारी गराए । उनीहरुले कार्यकक्षमा रहेको टेवल, बिभाग प्रमुखको मोवाइल र ल्यापटप समेत तोडफोड गरेको उनले बताए ।


सोही शिक्षालयमा अध्ययनरत बिद्यार्थी श्यामहरि संग्रौलालाई प्रशिक्षक रानाभाटले आफूले अध्यापन गराउने सर्भे बिषयको प्रयोगात्मक परिक्षामा पटक पटक फेल गराएको भन्दै उनीमाथि हातपातको प्रयास भएको बताइएको छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले घटना पश्चात बिज्ञप्ती जारी गर्दै प्रयोगात्मक परिक्षाको सबै काम गरेपनि नियतवश अनुर्तिण गराएको भन्दै आपत्ति जनाएको छ ।

‘शैक्षिक बर्ष २०७७ मा सोही शिक्षालयमा भर्ना भई डिप्लोमा ईन सिभिल इन्जिनियरिङ बिषयमा अध्ययनरत छात्र संग्रौला उनलाई मन परेनछ,’ बिज्ञप्तीमा भनिएको छ, ‘निज प्रशिक्षकको सर्भे बिषयमा प्रत्येक सेमिस्टरमा सिटिइभिटीले लिएको बाह्य परिक्षा उत्तीर्ण हँुदा प्रयोगात्मक परिक्षामा आग्रहपूर्ण तरिकाले अनुतिर्ण गराउनु हुन्थ्यो ।’

यस पटक पनि पुनः दिएको चौथो समेष्टरको परीक्षामा वदनियत राखि प्रयोगात्मक तर्फ अनुतिर्ण गराई बिद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोजेको नेविसंघको आरोप छ । यसै सन्दर्भमा सम्बन्धित प्रशिक्षकसँग छलफल गर्न शिक्षालय जाँदा उत्तेजित हुने खालको अभिव्यक्ति दिएको र बाहिर आउनुको सट्टा कोठामा चुकुल लगाएर बसेपछि सामान्य भनाभन र तानातान भएको नेविसंघले जनाएको छ । उक्त प्रशिक्षकलाई शिक्षालयबाट हटाउन माग राख्दै उनीहरुले शिक्षालयमा तालावन्दी समेत गरेका छन् ।


यता प्रशिक्षक रानाभाटले भने आफूले प्रयोगात्मक परीक्षामा फेल नगराएको दावी गरेका छन् । ‘मैले पास अंक हालेर कोअडिनेटरलाई दिएको हुँ, कोअडिनेटर र परिक्षा बिभाग मिलेर नम्वर चढाएका हुन् । कसरी फेल आयो मलाई थाहा भएन,’ उनले भने । आफूमाथि भएको घटनाको कानूनी उपचार खोज्ने उनले बताए ।

यता शिक्षालय प्रमुख प्रदिपराज बसौलाले भने प्रशिक्षक रानाभाट र उक्त बिद्यार्थीबीच केही बर्ष अघि देखिकै विवाद रहेको बताए । ‘तीन बर्ष अघि खेलकुदको बिषयमा विवाद भएको रहेछ, प्रहरीकोमा राखेर विवाद मिलाएका थियौ,’ उनले भने, ‘उनले पढाउने बिषयको प्राक्टिकलमा पटक पटक फेल गराएछन्, अस्तिको रिजल्टमा पनि फेल गराएपछि बिद्यार्थीहरु अराजक भएर अचानक शिक्षालयमा आएर अभद्र व्यवहार गरे ।’

प्रतिक्रिया दिनुहोस्