
विपी स्मृती दिवसमा खाद्यान्न वितरण तथा वृक्षारोपण
विपी कोइरालाको ४२ औँ स्मृति दिवस नेपाली कांग्रेस गोरखाले पनि विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आइतवार खाद्यान्न वितरण तथा वृक्षारोपण कार्यक्रम गरिएको कांग्रेस गोरखाका उपसभापति धिरन थापाले बताए ।
जिल्ला सदरमुकामको छहरे स्थित गोरक्षनाथ बैद्धिक गुरुकुल र बालमन्दिर माध्यामिक बिद्यालयमा आवासिय रुपमा अध्ययनरत बिद्यार्थीका लागि खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए । दुवै बिद्यालयलाई दश बोराका दरले चामल, एक÷एक बोरा दाल र एक÷एक प्याकेट तेल वितरण गरिएको बताइएको छ । कांग्रेस गोरखाका सभापति एवं गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपानेले एक कार्यक्रमकाबीच खाद्यान्न बिद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
खाद्यान्न वितरणसँगै वृक्षारोपण समेत गरिएको थापाले बताए । सल्लो, धुपी, रुद्राक्ष र अशोकाका विरुवा लगाइएको उनले जानकारी दिए । कार्यक्रममा पार्टीका जिल्ला पदाधिकारी, कांग्रेस निकट भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख एवं पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । अन्य स्थानीय तहमा पनि वृक्षारोपण गरेर दिवस मनाइएको कांग्रेस गोरखाले जनाएको छ ।




