
सर्दिभीरको क्यान्टिलिभर पुल क्षतिग्रस्त
अनुपमा खनाल ः चुमनुब्री गाऊँपालिका ६ को सर्दी भिरमा बनाइएको क्यान्टिलिभर पुल पहिरोले क्षतिग्रस्त भएको छ । डेढ बर्षअघि भीर खोपेर बनाइएको नयाँ प्रविधिको मानिने सो पुलका बिभिन्न भागमा पहिरोसँगै खसेको ठूल्ठूला ढुंगाले क्षति पु¥याएको चुम्चेतका गोपाल लामाले टेलिफोनमा बताए । ‘पुलको दुई ठाउँमा गरी करिब ६ मिटर भागमा क्षति पुगेको छ’, लामाले भने, ‘पुलको डेक र छेऊको पोल भाँचिएको छ । हामीले डेक भाँचिएको ठाऊँमा काठको फलेक राखेर हिँड्न मिल्ने बनाएर ओहोरदोहोर गरेका छौ ।’ पहिरोले पुलको एक भाग बाँगिएको र बार पनि भाँचिएको उनले बताए । भीरबाट झरेको ढुङ्गाले पुलको बार पनि भाँचेको छ । ‘छेउको बार पनि भाँचिएको छ’, उनले भने ‘मान्छे हिँड्ने ठाउँमा फलेक राखेर हिड्दा पनि खसिन्छ कि भन्ने डर हुन्छ ।’ मनासलु पदमार्गको चुमभ्याली जाने बाटो सर्दिभीरमा क्यान्टिलिभर पुल बनाइएको हो । पुल जोखिम भएपछि साबिक चुम्चेत र छेकम्पारका बासिन्दा सहित चुमभ्याली घुम्न जाने पर्यटकलाई समस्या भएको छ । मान्छे जोगिँदै हिँड्न सकेपनि खच्चड हिँडाउन गाह्रो परेको चुमनुब्री ४ का वडाध्यक्ष लोप्साङ लामाले बताए । ‘सर्दिभिरबाट ठूला ठुला ढुंगा पनि खसिरहन्छ’, लामाले भने, ‘पूरै पुल नै जान्छ कि भन्ने पिर छ ।’ अहिले क्षति पुगेको भागको मर्मतका लागि पहल गरेको गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताइन् । उनले भनिन्, ‘गाउँपालिका आफैंले मर्मत गर्न सक्ने अबस्था छैन । पुल जडानको काम गरेका इन्जिनियरलाई खबर गरेका छौँ ।
मर्मतका लागि बोलाएका छौँ ।’ २०७२ सालको भूकम्पपछिको पहिरो र स्यारखोलामा आएको बाढीले मनासलु पदमार्ग कटान गरेपछि चुमभ्याली का बासिन्दाको आवतजावतको बाटो बन्द भएको थियो । अवरुद्ध बाटो खुलाउन झोलुङ्गे पुलमै प्रयोग गरिने स्टिलका संरचनाहरु प्रयोग गरी भित्तामा खोपेर क्यान्टिलिभर पुल जडान गरिएको हो । बेलायतको दातृ संस्था युकेएडको आर्थिक सहयोगमा नेपाल बजार विकास कार्यक्रमले ४ करोड १५ लाख लगानी गरी १२७ मिटर लामो पुल बनाइएको हो ।
सो बाटो भएर चुमभ्यालीका चुम्चेत तथा छेकम्पारका बासिन्दा सिर्दिबास तथा तल्लो भेगमा आवत जावत गर्ने गर्छन् ।
सो भीरमा क्यान्टिलिभर पुल बन्नु अघि स्थानीयबासी बर्खाको समयमा डोरी टाँगेर झुण्डेर यात्रा गर्न बाध्य थिए ।




