| बुधबार, अशोज १३, २०८३

स्थानीय पाठ्यक्रम बनाउँदै चुमनुब्री

गोरखाको सबैभन्दा दुर्गममा रहेको चुमनुब्री गाउँपालिकाले बालबालिकालाई पठनपाठन गर्न स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । स्थानीय कला, भाषा, संस्कार, संस्कृति, भेषभुषा, प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल, पालिकाभित्रका चर्चित व्यक्तित्वहरुको बारेमा विषयबस्तु समेटेर स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

पाठ्यपुस्तकमा चुमनुब्री गाउँपालिकाको अहिंसा(स्याग्या) र परम्परागत उपचार पद्धति(आम्जी) सम्बन्धी ऐनको चिनारी पनि समावेश गरिने गाउँपालिका अध्यक्ष निमा लामाले बताए । साथै सो गाउँपालिकामा बसोबास गर्ने भोटेलामा(चुम्बा र नुब्री) जातजातिको सामाजिक मूल्य, मान्यता, पनि स्थानीय पाठ्यपुस्तकमा समावेश गरिने छ ।

गाउँपालिकामा खेती गरिने बाली, बिऊ बिरुवा, अन्न, फलफूल पनि समेटिने बताएको छ । चुमनुब्रीकोे जैविक विविधता, भौगोलिक अवस्थिति, जलवायु, जनसंख्या, सीमानामा पर्ने गाउँपालिकाहरु, गाउँपालिकाभित्र रहेका मुख्यमुख्य गुम्बाहरुको परिचय पुस्तकमा समाबेश गरिने छ ।

पाठ्यक्रम बनाउनका लागि गाउँपालिकाले पाठ्यपुस्तक सम्बन्धी विज्ञ करुणा धिताल र अनिल पाण्डेसँग पनि छलफल गरी सुझाव लिएको अध्यक्ष लामाले बताए । अहिले पाठ्यक्रम निर्माण गर्ने बारेमा प्रारम्भिक छलफल भएकाले पाठ्यपुस्तकको नामाकरण भने नगरिएको उनले बताए । पाठ्यक्रम निर्माण भए पछि कतिसम्म पठनपाठन गर्ने भन्नेबारे पनि निर्णय हुन बाँकी रहेको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्