
सामुदायिक विद्यालयमा छोराछोरी पढाउनेलाई गोरखा नगरपालिकाद्वारा निशुल्क स्वास्थ्य बीमा
मेलिना बराम । सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकलाई गोरखा नगरपालिकाले एकलाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिने भएको छ । शैक्षिक सत्र २०८१/०८२ मा गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा एकमा भर्ना हुने विद्यायार्थी र उनको अभिभावकको स्वास्थ्य बिमा गरिदिने कार्यक्रम ल्याएको नगरप्रमुख कृष्ण रानाले जानकारी दिए ।
सामुदायिक विद्यालयमा विद्यायार्थी संख्या बढाउने उद्देश्यले यो कार्यक्रम ल्याएको नगरप्रमुख रानाले बताए । ‘अहिले कार्यक्रम लागु भएको पहिलो बर्ष कक्षा एकमा भर्ना गराउने अभिभावकहरुको स्वास्थ्य बिमा गराउनेछौं । आगामि बर्षमा हामी अरु कक्षामा भर्ना गर्ने अभिभावकलाई पनि सेवा क्षेत्र बढाउँदै लान्छौंँ’, उनले भने, ‘सामुदायिक विद्यालयमा छोराछोरी पढाउने सबै अभिभावकलाई निशुल्क स्वास्थ्य बीमा गराउँछौँ । उहाँहरुले एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा निशुल्क रुपमा पाउनु हुनेछ ।’
न्यून आर्थिक अबस्था भएका अभिभावकले सामुदायिक विद्यालयमा बालबच्चा पढाउने भएकाले उनीहरुलाई स्वास्थ्य सेवा पनि निशुल्क दिने दायित्व नगरपालिकाले लिन यो कार्यक्रम लागु गरेको उनले बताए । ‘अहिलेसम्मको अवस्था हेर्दा सामुदायिक विद्यालयमा पढ्नेहरु आर्थिक अबस्था न्यून भएकाहरुका बच्चाहरु छन् । अल्लि हुनेखानेका बच्चाहरु चाहिँ बोर्डिङतिर पठाएका छन्’, उनले भने, ‘उनीहरुका लागि शिक्षा र स्वास्थ्य निशुल्क दिने उद्देश्यले यो कार्यक्रम लागु गरिएको हो ।’
यो कार्यक्रमका लागि यसबर्ष नगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको छ । विनियोजन गरिएको बजेट अपुग भए थप गरिने उनको भनाइ छ । यसबाट नगरपालिकालाई आर्थिक भार थप हुने भएता पनि जनताको सेवा पहिलो प्रथामिकता भएको मेयर रानाले बताए । ‘नगरपालिकालाई आर्थिक भार त हुन्छ, भार पर्छ भनेर जनतालाई सुविधा नदिने कुरा त भएन नि’, उनले भने, ‘अरु कुरा समग्रमा भई राख्छ, जनताले प्राप्त गर्ने निशुल्क स्वास्थ्य, शिक्षालगायतको सेवा चाहिँ सकेसम्म दिने हो ।’ मेयर रानाका अनुसार बिमा कार्यक्रम कै लागि भनेर विद्यायार्थी भर्ना गराउने संख्याको लक्ष्य भने नराखिएको बताए ।
‘अहिले चार/पाँच सय जना विद्यार्थी पनि छैनन्, लक्ष्य यति नै भनेर त राखेको छैन,’ उनले भने, ‘विद्यार्थी कति भर्ना गराउने भन्ने लक्ष्य त स्कुलहरुले राखेको हुन्छ, हामी सबै स्कुलहरुसँग आ–आफ्नो लक्ष्य चाहीँ माग्छौँ ।’ निशुल्क स्वास्थ्य बीमा कार्यक्रमबारे नगरपालिकाभित्रका विद्यालयहरुका प्राध्यानध्यापकहरुलाई जानकारी गराइसकिएको छ । भर्ना अभियानका क्रममा प्रधानाध्यापकहरुले आभिभावकलाई जानकारी गराउने उनले बताए । निशुल्क स्वास्थ्य बिमा गराउने जिम्मेवारी विद्यालयहरुलाई नै दिइने नगरपालिकाले जनाएको छ ।
बिमाबारे अभिभावकहरुलाई जानकारी नभए पनि हुने उनको भनाई छ । शिक्षकहरुमार्फत नै यो बिमा गराउने बताएको छ । ‘केही दिन अघि सबै सरकारी विद्यालयका प्राध्यानध्यापकहरुको बैठक राखेका थियौंँ, सोही बैठक मार्फत यो कार्यक्रमको जानकारी गराएका छौंँ’, उनले भने, ‘उहाँहरुबाट स्कुल स्कुलमा प्रचारप्रसार हुन्छ । यसबारे अभिभावकले जान्नु पर्दैन, शिक्षकले नै ल्याएर बिमा गराई दिनु हुन्छ ।’
सामुदायिक विद्यालयमा भर्ना भएका विद्यायार्थीको एकजना अभिभावकले बिमा गराएको भए पनि सेवा भने परिवारका पाँच जनाले पाउने छन् । ‘परिवारमा जो बिमारी परेता पनि एउटै कार्डबाट पाँचजना सम्मले उपचार सेवा पाउँछन्’, उनले भने । स्वास्थ्य बिमा गराई सकेका अभिभावकको हकमा भने यो कार्यक्रम लागु नहुने उनले बताए ।
यो कार्यक्रम अन्तरगतको उपचार सेवा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरी पढाउने जो कोहीले पाउने मेयर रानाले बताए । ‘नगरपलिकाभित्रको सामुदायिक विद्यालयचाहिँ हुनुप¥यो, विद्यार्थी जुन पालिका, जुन जिल्ला वा जुन देशबाट ल्याएर भर्ना गरे पनि स्वास्थ्य बीमाको सेवा लिन सक्छन्’, उनले भने । बिमा कार्यक्रममा समावेश भई भर्ना भएका विद्यार्थी अन्यत्र विद्यालयमा सार्न पाउने/नपाउने भन्ने विषयमा अहिले केही नीति नबनेको उनले बताए ।
सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको छोरा–छोरीलाई पनि सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने भन्नेबारे पनि निर्णय भईसकेको मेयर रानाले जानकारी दिए । आगामि शैक्षिक सत्रदेखि सो कार्यक्रम पनि कार्यान्वयनमा आउने उनले बताए । ‘पोहोर नीति बन्यो, अहिले निर्णय भएको छ अबदेखि कार्यान्वयनमा आउँछ’ उनले भने ।




