| बुधबार, अशोज १३, २०८३

पाँचबर्षको अवधिमा गोरखाका विद्यालयका नाउँमा २२ करोड बेरुजू

गोरखाका विभिन्न विद्यालयका नाउँमा २२ करोडभन्दा धेरै बेरुजु रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको अभिलेखअनुसार जिल्लाका २६३ वटा विद्यालयको एकमुष्ठ २२ करोड ३७ लाख २१ हजार ७७६ रुपैयाँ बेरुजु देखिएको हो ।
जिल्लामा ३८७ वटा सामुदायिक विद्यालयहरु छन् । तीमध्य २६३ विद्यालयको भवन निर्माण तथा पुनर्निर्माणका सम्बन्धी ४४८ वटा योजनामा बेरुजु देखिएको इकाइ प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिए । आर्थिक बर्ष २०६९/०७० देखि २०७३/०७४ सम्मको पाँच बर्षको अवधिमा २२ करोड भन्दा धेरै बेरुजु देखिएको भन्दै समन्वय इकाइले यथासीघ्र बेरुजु फस्र्यौट गर्न सार्वजनिक सूचना गरेको छ ।

आर्थिकबर्ष २०६९/०७० देखि हालसम्म विद्यालय भवन निर्माण तथा पुनर्निर्माणका क्रममा २८ वटा शीर्षकमा यत्तिका बेरुजु देखिएको आचार्यले बताए । आर्थिकबर्ष २०६९/०७० सालमा गोरखाका विद्यालयहरुमा ६५ लाख १६ हजार ७७६ रुपैयाँ बेरुजु थियो । एकबर्षपछि यो परिमाण बढेर ८७ लाख ६६ हजार पुगेको कार्यालयको अभिलेखमा छ । त्यस्तै आर्थिक बर्ष २०७१/०७२ मा दुई करोड १३ लाख रुपैयाँ पुगेको थियो । त्यस्तै आर्थिक बर्ष २०७२/०७३ मा यो परिमाण बढेर चारकरोड एक लाख पुगेको शिक्षा विकास तथा समन्वय इकाइले जानकारी दिएको छ ।

त्यसैगरी अर्को बर्ष २०७३/०७४ मा यो परिमाणमा बढेर १२ करोड आठलाख पुगेको थियो । आर्थिक बर्ष २०७४/०७५ मा अझै यो परिमाण बढेर २२ करोड ३७ लाख २१ हजार पुगेको कार्यालयले जनाएको छ । दुईकोठे, चारकोठे भवन निर्माण तथा मर्मतका क्रममा, बाह्य वातावरण निर्माणका क्रममा, कक्षा कोठा पुनस्थापना तथा फर्निचर व्यवस्थापन, सौचालय निर्माण, ट्रस भवन मर्मत, रेट्रो फिटिङ, सेमि पर्मानेण्ट भवन निर्माण, सूचना प्रविधि ल्याब स्थापना लगायतका शीर्षकमा बेरुजु देखिएको कार्यालयले जनाएको छ ।

सो बेरुजु फस्र्यौट गर्न शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित विद्यालयहरुलाई पत्राचार गरेको छ । ‘बेरुजु फस्र्यौटलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनामा कार्यालय छ’, आचार्य भन्छन्, ‘यस सन्दर्भमा सम्बन्धित विद्यालयहरुलाई पटक पटक विवरण माग गरेका छौँ । हालसम्म ९४ वटा विद्यालयहरूबाट विवरण प्राप्त भैसकेको छ । अझै १६९ वटा विद्यालयहरूबाट विवरण प्राप्त हुन बाँकी छ । यदि विद्यालयहरुले कार्यालयको सूचनालाई बेवास्ता गरेमा नियमानुसार प्रक्रिया अगाडि बढाइने छ ।’

कुनै विद्यालयले रकम हिनामिना गरेर बेरुजु देखिएका छन् भने कुनै विद्यालयले काम अलपत्र पारेर बेरुजु देखिएका छन् । कुनै विद्यालयले एउटा शीर्षकमा आएको बजेट शीर्षक परिवर्तन गरी खर्च गरेकाले बेरुजु देखिएका छन् । कतिपय विद्यालयले भने विधि र प्रक्रिया अनुसार खर्च गरेर पनि कागजात पु¥याउन नसकेर रकम बेरुजु देखिएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्