
भीमसेन थापामा सार्वजनिक पद धारण गरेकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने
गोरखाको भीमसेन थापा गाउँपालिकाका सार्वजनिक पद धारण गरेका व्यक्तिले अब आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने भएको छ । बुधबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका व्यक्ति सबैको छोराछोरी आगामी शैक्षिकसत्र २०८१ मा सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेको छ ।
‘सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्यले भीमसेनथापा गाउँपालिकाभित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालवालिकाहरुलाई सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा भर्ना गराउने निर्णय भएको हुँदा माथि उल्लेख भए बमोजिमका व्यक्ति तथा पदाधिकारीहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराई भीमसेनथापा गाउँपालिकाको शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी एवं नतिजामुलक बनाउन सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध छ’, जारी सूचनामा उल्लेख छ ।
पालिकाका ८ वटैै वडाहरुमा ‘विद्यार्थी खोजौँ, सामुदायिक विद्यालय बचाऔँ’ अभियान संचालन गरिएको जनाएको छ । सम्बन्धित व्यक्तिहरुले आफ्नो वडाभित्रको सम्पूर्ण विवरणहरु चैत १५ भित्र शिक्षा, युवा तथा खेलकुद शाखा, घ्याम्पेशालमा पठाईदिनुहुन समेत अनुरोध गरिएको छ । आफ्ना बाल–बालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराएको जानकारी शिक्षा शाखा घ्याम्पेशालमा उपलब्ध गराउन पनि सूचनामा भनिएको छ ।




