| बुधबार, अशोज १३, २०८३

द्रव्यशाह क्याम्पसको अब आफ्नै बस सेवा

बिद्यार्थीको सुविधाका लागि भन्दै गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसले बस खरिद गरेको छ । बिद्यार्थी बोक्ने प्रयोजनका लागि किन्ने गाडीमा सामुदायिक क्याम्पसलाई नेपाल सरकारले दिने भन्सार छुटको सुविधा उपभोग गर्दै क्याम्पसले बस खरिद गरेको हो ।

२८ लाख ३३ हजारमा बस खरिद गरिएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए । ‘भन्सार तिरेर ल्याउँदा यो गाडीको ४८ लाख पर्ने रहेछ,’, उनले भने, ‘भन्सार छुट हुदाँ २८ लाख ३३ हजारमा आयो । क्याविनको सिट लगायतका भित्री केही संरचना थप गर्दा र दर्ता र बिमा सबै गरेर करिव ३० लाख हाराहारी परेको छ ।’ आज बिहीवारबाटै उक्त बसले बिद्यार्थी ओसार पसार गर्ने उनले जानकारी दिए ।

हालसम्म क्याम्पसले भाडामा बस लिएर बिद्यार्थी ओसार पसार गर्दै आएको थियो । अव भने क्याम्पसकै बसले सेवा दिने दुवाडीले बताए । ‘क्याम्पसकै बस भएपछि बिद्यार्थीसँग अहिले लिदैँ आएको भाडामा पनि केही सहुलियत दिन सकिन्छ की भन्ने छ, यसबारे व्यवस्थापन समितिमा छलफल गर्छाै,’ उनले भने ।

नयाँ खरिद गरिएको बसको वुधवार एक कार्यक्रमका बीच सेवा शुभारम्भ गरिएको छ । कार्यक्रममा बोल्दै क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शितलकाजी मास्केले पनि भाडादरमा केही सहुलियत दिने संकेत गरेका थिए । आफ्नै बस भएपछि अरुसँग भर पर्नुपर्ने बाध्यता हटेको भन्दै क्याम्पस प्रमुख दुवाडीले सेवा पनि थप प्रभावकारी र सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्