
विविध कार्यक्रम गरी माओवादीले जनयुद्ध दिवस मनायो
२९ औँ जनयुद्ध दिवसको अवसरमा माओवादी गोरखाले जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी र वाइसिएलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा ६३ जनाले रक्तदान गरेको र ६३ पाउण्ड रगत संकलन भएको अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव राजन आले मगरले बताए । ‘संकलन भएको रगतमध्ये दश पाउण्ड गोरखा ब्लड बैंकलाई दियौ, बाँकी चितवन रेडक्रसलाई बुझाउँछौ,’ उनले भने । जिल्लामा दश पाउण्डभन्दा धेरै रगत संकलन गर्ने क्षमता नभएकाले बाँकी रगत चितवन पठाउन लागिएको उनले जानकारी दिए । दिवसकै अवसरमा उनीहरुले शहीदहरुको सम्झनामा दीप प्रज्वलन समेत गरेका छन् । मंगलवार साँझ हरमटारीचोकमा दीप प्रज्वलन गरेका हुन् ।
दिवसको अवसरमा बरपाक सुलिकोट गाउँपालिकामा बक्तृत्वकला प्रतियोगिता भएको छ । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा सूर्यज्योती मावि ताकुकोटकी रचना ढकाल प्रथम भएकी छन् । जलकन्यादेवी मावि लाकुरीबोटकी रनु थापा द्वितीय र हिमालय मावि बारपाककी रिजु घले तृतीय भएको पालिका शिक्षा अधिकृत भीमकुमार श्रेष्ठले बताए ।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ६ हजार, ५ हजार र ४ हजार नगदपुरस्कारको साथमा प्रमाणपत्र प्रदान गरिएको उनले जानकारी दिए । राष्ट्र निर्माणमा शहीदको योगदान विषयक प्रतियोगितामा पालिका भित्रका पाँच वटा विद्यालयका आठ जना विद्यार्थीहरु सहभागी थिए ।
दिवसकै अवसर पारेर पालिकाले माध्यमिक विद्यालयका शिक्षकहरुको हाजिरजवाफ प्रतियोगिता पनि गरेको छ । कुल दश बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा हिमालय मावि सौरपानी पहिलो, हिमालय मावि बारपाक दोस्रो र माइकोट मावि ताकुकोट तेस्रो भएको पालिकाले जनाएको छ ।
पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयहरुलाई क्रमश ८ हजार, ७ हजार र ६ हजार नगदपुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको बताइएको छ । गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङको अध्यक्षता तथा पालिका प्रशसकीय अधिकृत इश्वरीप्रसाद पनेरुको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो ।




