| बिहिबार, अशोज १४, २०८३

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेकोप्रति मुख्यमन्त्री पाण्डेको चिन्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेकोप्रति चिन्ता व्यक्त गरेका छन् । शैक्षिक गुणस्तरवृद्धिसँगै विद्यार्थी संख्या बढाउनमा ध्यान दिनुपर्ने उनले बताए ।

मंगलवार आरुघाट गाउँपालिका–८ स्थित धारापानी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै उनले भने, ‘विद्यालयमा सुविधा सम्पन्न भवन बनेको छ, अरु पूर्वाधारहरु पनि बनेका छन्, तर ग्रामिण क्षेत्रका विद्यालय, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ ।’

विद्यालयलाई साधन स्रोत सम्पन्न बनाउने गरी स्थानीय, प्रदेश, संघ सरकारले बिभिन्न कार्यक्रम संचालन गरिरहेको तर विद्यार्थी संख्या घट्दा प्रतिफल नदेखिएको उनले बताए । ‘विद्यार्थी मात्र होईन, गाउँमै रोजगारीको सिर्जना गरेर युवा जनशक्ति र अभिभावक पनि टिकाउनुपर्ने आजको आवश्यकता छ’, मुख्यमन्त्री पाण्डेले भने ।

सडक स्तरोन्नति, स्वास्थ्य संस्थाको सुदृढिकरण लगायत जनताको आधारभुत आवश्यकता र सेवा सुविधाको वृद्धि हुँदै गईरहेको तर गाउँ छाड्ने, खेतबारी बाँझिने दर बढेको भन्दै मुख्यमन्त्री पाण्डेले अहिले गाउँहरु रित्तँदै गएको देख्दा विकास कसका लागि भन्ने प्रश्न उठ्ने गरेको बताए ।

‘अनुत्पादक क्षेत्रमा भएको लगानी रोक्ने गरी गण्डकी प्रदेश सरकारले कार्यक्रम ल्याएको छ, तपाईहरु त्यसमा सहभागी हुन सक्नुहुन्छ’ उनले भने । शिक्षाको अधिकार संघ, प्रदेश वा स्थानीय तह कसको भन्ने यकिन नहुँदा पनि अन्यौल सिर्जना भएको बताउँदै उनले सबैको सहकार्य जरुरी रहेको बताए ।

स्वर्ण महोत्सवमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपानले शिक्षा क्षेत्रको बिकासका लागि गण्डकी प्रदेश सरकारले ल्याएका योजनामा सहभागी हुन विद्यालयहरुलाई अनुरोध गरे । ‘व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता छ’ उनले भने ‘यसले रोजगारी सिर्जनामा पनि मद्दत पुग्छ ।

’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीदत्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शान्ता सापकोटा खनालले विद्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए । स्वर्ण जयन्तीको अवसरमा विद्यार्थीहरुले बिभिन्न सांस्कृतीक प्रस्तुती देखाएका थिए । सोही अवसरमा विद्यालयलाई जग्गा दान गर्नेहरुलाई सम्मान गरिएको थियो भने स्वर्ण स्मारीका पनि बिमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्