| आइतवार, कार्तिक २९, २०८३

बोक्सी आरोपी बिस्थापित महिलाले न्याय पाएनन्

दरौँदी ः  बोक्सीको आरोप लगाउने बिरुद्ध कानुन भएपनि प्रभावकारी कार्वान्वयन गर्न नसकेको एक कार्यक्रममा समीक्षा भएको छ । शुक्रबार महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर राजन पन्तले काशिगाउँमा बोक्सीको आरोप लागेका महिलाहरुले गाउँ छोड्न बाध्य भएको भन्दै असन्तुष्ट ब्यक्त गरेका हुन् ।

राज्यको नियम कानुनलाई खिल्ली उँडाउँदै लोकतान्त्रिक देशमा आफ्नो राज गर्न खोज्नेहरुको बिरुद्ध सबै लाग्नु पर्ने उनले बताए । ‘यो कानुनी राज्य हो, कानुनको पालना सबैले गर्नुपर्र्छ’ उनले भने ‘बोक्सीको आरोप लागेका काशीगाउँको परिवार नै गाउँ छाडेर आउनु परेको छ । त्यो हामी सबैका लागि दुखको कुरा हो ।’ देशमा सामाजिक न्याय ल्याउनका लागि प्रहरी, प्रशासन, स्थानीय सरकार र जनता सबै बिच समन्वय हुनुपर्नेमा उनले जोड दिए । नगरपालिकाले हिंसामा परेका महिला, बालबालिका तथा े नागरीकहरुका लागि सहयोग गर्ने उदेश्यले बिभिन्न कोषहरु स्थापना गरेको पन्तले बताए । कानुनले दिएको अधिकारलाई कार्वन्वयन गर्न नसके समस्या कहिल्यै हट्न नसक्ने उनको भनाई छ । पत्रकार महासंघका अध्यक्ष किशोरजंथ थापाले नेपालको कतिपय नीति नियमले नै महिलाहरुलाई झन पीडित बनाउने गरेको बताए । बुबाको नाममा नागरिकता लिँदा आमाको नाम नखुलाए पनि हुने तथा आमाको नाममा नागरिकता लिँदा बाबुको नाम खुलाउँनै पर्ने बिभेदकारी नीति भएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले सरकारको पहुँच नपुगेको ठाउँमा गैरसरकारी संस्थाको मद्धतले सरकार पुग्ने गरेकोमा गैरसरकारी संस्थाको प्रसंसा गरे । महिला तथा बालबालिका उद्धार केन्द्रकी अध्यक्ष सम्झना देवकोटा को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रजिअ भट्टराई, जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी, मेयर पन्त, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक बिमल बस्नेत, नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, गैससका अध्यक्ष सिताराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । संस्थाले चालु आर्थिक बर्ष चार लाख १० हजार रुपियाँ बराबरको कार्यक्रम गर्ने सो अबसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्