| आइतवार, कार्तिक २९, २०८३

दुइटा ढुङ्गा नपन्छ्याउँदा बारपाकमा गाडी चलेन

ठेकेदारले तुहाए बारपाकीको सडक सपना

दरौँदी ः ‘जे नहुनु थियो, भैहाल्यो । अब बाँचेकाहरुको पीडा भुलाउन राज्य ले केही सुविधा दिनुपर्छ भन्ने हाम्रो माग थियो’ बिगत बिर्सने प्रयास गर्दै बारपाकका भूकम्प पीडित जीतबहादुर घले भन्छन् ‘त्यति बेलाका प्रधानमन्त्री, जो अहिलेको पनि प्रधानमन्त्री हुनुहुन्छ, केपी ओलीबाट दुईवर्षभित्र बारपाकसम्म पिच सडक आउने आश्वासन पायौं । यो आश्वासनका आधारमा हामीले आँशु पुछ्ने प्रयास गरेका थियौं । तर ४० महिना बितिसक्यो, एक किलोमिटर पनि पिच थपिएको छैन ।’ तीनबर्षअघि जहाँसम्म कालोपत्रे गरिएको थियो, अहिले पनि त्यहीँसम्म मात्र कालोपत्रे भएको उनको भनाई छ । ‘अहिले पनि यो सडक हिउँदलाई मात्र काम लाग्छ । बर्खाको तीनमहिना बारपाकमा गाडी चल्दैन’, उनले भने ।
गोरखादेखि बारपाकसम्मको ४६ किलोमिटर सडक कालोपत्रे गर्न सडक बिभागले ६५ करोड रुपियाँ बिनियोजन गरेको थियो । ११ किलो छेपेटार बारपाक सडक योजना कार्यालयले चारवटा प्याकेज बनाएर टेण्डर गरेको हो । तर योजना सम्झौता गरेर ठेकेदार भागेको आरोप लगाउँदै सडक योजना कार्यालयका प्रमुख अमृतमणि रिमालले निर्धारित काम हुन नसकेको बताए ।
१२ किलो, बारपाक सडकखण्डमा तीनबर्षअघि नौ किलोमिटर सडक कालोपत्रे भएको थियो । कार्यालयको प्रगति प्रतिवेदनमा अहिले पनि त्यही उपलब्धि कायम छ ।
रिमालका अनुसार पहिलो खण्डको आठ किलोमिटर सडक कालोपत्रे गर्न नौ करोड ३७ लाख रुपियाँको ठेक्का आव्हान भएको थियो । नागार्जुन त्रिशुली जेभी कम्पनीले २०७२ मङ्सीरमा सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको थियो तर काम सम्पन्न नगरेपछि फेरि २०७३ चैत ३० सम्म म्याद थप गरिएको थियो । थपिएको म्यादभित्र अलिकति पनि काम नभएको सडक योजना कार्यालयले जनाएको छ ।कार्यालयले ठेकेदारसंग ७० लाख रुपियाँ जमान तजफत गरिसकेको जनाएको छ । त्यस्तै दोस्रोखण्डको पाँच किलोमिटर सडक कालोपत्रे गर्न कन्काई गोरखा जेभी कम्पनीले ११ करोड ९४ लाख रुपियाँमा ठेक्का लिएको थियो । सो कामको पनि अहिलेसम्म ५५ प्रतिशतमात्र काम भएको साइट सब इञ्जिनियर रेयोन फुयाँलले बताए । कार्यालयले सो काम सम्पन्न गर्नका लागि २०७६ सालको असार सम्मकालागि म्यादथप गरेको जनाएको छ ।
तेस्रो खण्डको आठ किलोमिटर खण्ड कालोपत्रे गर्न लोहनी एण्ड ब्रदर्श कम्पनीले १० करोड ७० लाख रुपियाँमा ठेक्का लिएको थियो । २०७४ जेठभित्र सम्पन्न गर्ने गरी सम्झौता गरे पनि सम्पन्न नभएपछि गत जेठ १५ गते सम्मकालागि म्याद थपगरिएको थियो । तर म्यादथप गर्दा पनि जम्मा ३१ प्रतिशतमात्र काम भएको सबइञ्जिनियर फुयाँलले बताए ।
सडक योजना कार्यालयले चौथो खण्डको १६.७ किलोमिटर सडक कालोपत्रे गर्न रसुवा इलाइट सूर्य जेभी कम्पनीलाई ३५ करोडमा ठेक्का दिएको थियो । ‘गत असार मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो, तर निर्धारित समयमा जम्मा ३० प्रतिशतमात्र काम भएको छ’, फुयाँलले भने ‘यो बर्ष फेरि एक बर्षका लागि म्यादथप भएको छ ।’
काम नगर्ने ठेकेदारलाई बारम्बार ताकेता गरेको सडक योजना कार्यालयका प्रमुख अमृतमणि रिमाल बताउँछन् । ‘कामनगर्ने ठेकेदारको नाम राष्टिूय पत्रिकामा प्रकाशन गरेर कारबाही प्रक्रिया अघि बढाएका थियौं’, रिमालले भने, ‘टेलिफोन सम्पर्क गरेर, पत्राचार गरेर पनि बारम्बार ताकेता गरिरहेका छौं ।’
११ किलो बारपाक सडकमा पर्ने राङरुङ खोलापुल, बालुवा खोला पुल, झ्याल्ला खोला पुल र दरौंदी खोलामा मोटरेबल पुल बनाउन जापानी सहयोग नियोग(जाइका)ले जिम्मा लिएको थियो । सोे काम भने निर्धारित समयमै सम्पन्न भएर उद्घाटन गर्न मात्र बाँकी रहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठ बताउँछन् ।
‘८० प्रतिशत समय सकिँदा सम्म ८० प्रतिशतकाम सम्पन्न नगर्नेको पेश्की रकम फिर्ता लिन वैंकलाई पत्राचार गरिसकेको छु’ सडक कार्यालयका प्रमुख इञ्जिनियर रिमालले भने ‘यति दवाव दिँदा पनि अटेरी गरेर काम डामाडोल बनाएमा कालोसूचीका लागि प्रक्रिया अघि बढाउँछु ।’ काम नगर्ने ठेकेदारलाई ताकेता गर्न खोज्दा ठेकेदारहरुले ‘ठूलाबडा’बाट सोर्सफोर्स लगाउने गरेको उनले बताए । ‘ताकेताका लागि पत्रपत्रिकामा नाम प्रकाशित गराएका थियौँ, तर काममा आउनुको साँटो ठूला मान्छेहरुलाई फोन गर्न लगाएर ठेकेदारले हैरान पारेका छन्’ रिमाल भन्छन् ‘तर कसैले केही भनेर हुनेवाला छैन । काम अलपत्र बनाउने ठेकेदारलाई कारबाही गर्नेछु ।’ फोन गरेर हैरान बनाउने ‘ठूला’हरु भने उनले खुलाउन चाहेनन् ।
साना योजनाको काम धमाधम भइरहेको तर ठूला योजनाका काम अलपत्र हुने गरेका सडक योजना कार्यालयले जनाएको छ ।
गाउँसम्म ‘पिचरोड’ आउला भन्ने आशामा बसेका बारपाकीलाई सडक अलपत्र हुँदाचोट पुगेको छ । ‘अहिले धमाधम घर बनाउने बेला भएको छ । बाटो पिच भइदिएको भए बाह्रै महिना गाडी चल्थ्यो । घर बनाउने सामानको अभाव हुन्नथ्यो’ हिमालय मावि बारपाकका शिक्षक रामकुमार घले भन्छन् ‘पिच बाटो भएको भए ढुवानी भाडा पनि, यात्रुको भाडा पनि कम हुन्थ्यो । तर जहिले हेरे पनि बाटो अलपत्र छ ।’ सडक कच्ची हुँदा बर्खामा पैदल हिड्नु पर्ने र हिउँदमा पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने उनले बताए । गाउँमा बाह्रै महिना गाडी चल्ने आशामा गाउँले बारपाकबासीले छँदाखाँदाको घडेरी साँगुरो बनाएर गाउँको भित्रि गल्लीलाई सडक बनाएका थिए । बसपार्कदेखि कोटडाँडा सम्म, कोटडाँडादेखि मनेडाँडसम्म र मनेडाँडादेखि स्कूल टोल हुदै बसपार्कसम्म रिङरोड बनाएका थिए । त्यस्तै भित्रि गल्लीहरुलाई समेत फराकिलो बनाई टोलटोल सम्म गाडी पुग्ने सडक बनाएका थिए । तर मुख्य सडक नै स्तरोन्नती नभएपछि उत्साह घटेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्