| आइतवार, कार्तिक २९, २०८३

पहिरोले खानीगाउँका १९ घरपरिवार विस्थापित

दरौँदी ः एकसातादेखि निरन्तर पानी पर्न थालेपछि भुइँचालोले जमिन कमजोर भएको खानीगाउँमा धाजा फाटेको छ । गाउँभित्र डरलाग्दो गरी धाजा फाटेपछि गाउँका १९ घरधुरी एकसाता अघिदेखि बिस्थापित भएका छन् । धार्चे गाउँपालिका ७ खानीगाउँमा ७३ घरधुरी बसोबास गर्छन् । ‘७३ मध्य १९ जनाको घर पहिरोले तान्न लागेको छ’ स्थानीय सचिन गुरुङले भने, ‘जुनसुकै बेला पनि पहिरोले लान सक्ने भएपछि अति जोखिम १९ परिबारले घर छोडिसके । उनीहरु दिनभरि बारीको काम गर्न जान्छन् । रातको समयमा आफन्तको घरमा बस्न जान्छन् ।’ खाना बनाएर खाने बेलामा मात्र आफ्नो घर जाने गरेको उनले बताए । पुन्दराम गुरुङ, सेते गुरुङ, चित्रा गुरुङ, कान्छा गुरुङ, माहिला गुरुङ, चन्द्रमान गुरुङ, शेरमान गुरुङ, गर्बु गुरुङ, मन्थल गुरुङ, बनघरे गुरुङ, सुकपल गुरुङ, कान्छा गुरुङ, उतपाल गुरुङ, आशबहादुर गुरुङ, सोममाया गुरुङ, बिमान गुरुङ, बिमाया गुरुङ, सचिन गुरुङ र बिसराम बिकको परिबार बिस्थापित भएको उनले बताए । तीनबर्षअघि भूकम्प गएको बेलादेखि धार्चे ६ खानीगाउँ पहिरोको चपेटामा परेको थियो । ‘पोहोर पनि सरकारले एकसय २० थान तारजाली दिएको थियो’, गुरुङले भने, ‘गाउँभन्दा माथि ६० थान, गाउँभन्दा तल ६० थान लगाएका थियौं, अहिले सबै लग्यो ।’ जोङकङडाँडाबाट झरेको पहिरोले गाउँभित्र धाजा फाटेको स्थानीयको भनाइ छ । तीनबर्षअघिको भूकम्पले जोङकङडाँडा करिब तीनसय मिटर होचो हुने गरी पहिरिएपछि डाँडा भन्दा तल रहेका बस्तीका बासिन्दा त्रसित छन् । गाउा पहिरोको जोखिममा रहेको र केही घर बिस्थापित भएको बारे जानकारी पाएको जिल्ला विपद व्यबस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जान कारी दिए । रेडक्रससंग समन्वय गरी बिस्थापित का लागि ८० थान त्रिपाल पठाउने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए । घटना स्थलमा आइतबार प्रहरी पुगेर फर्किएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्