| आइतवार, कार्तिक २९, २०८३

पुरातात्विक सम्पदामाथि आक्रमण बढ्दै

पुरातात्विक सम्पदामाथि आक्रमण बढ्दै

दरौँदी ः ‘वुद्धिबल रानाको जिउ थियो भारी,
दसजना भोटेलाई घुँडाधसी मारी’
बोलको सवाइ गोरखाका जेठा पुस्तालाई अहिले पनि कण्ठस्थ आउँछ । तिब्बतसंगको लडाइँमा वुद्धिबल रानाले पेटमा दुश्मनको खुकुरी लागेर आन्द्राभुँडी निस्कँदा पनि कैयौं दुश्मनलाई मारेको कथाकहानी सवाइमा आउँछ ।
उनै वीर पुरुष वुद्धिबल रानाको घर गोरखा बजारको दरबारमार्ग टोलमा थियो । ठूलो र आकर्षक डिजाइनको भएकाले उनको निधनपछि सो घरलाई गोरखाका बडाहाकिमले निवासको रुपमा प्रयोग गर्न थाले । बडाहाकिम सिडियोमा रुपान्तर भएपछि त्यहाँ सिडियो बस्न थाले ।
चारबर्षअघि सो घर रित्तो बनाएर सिडियो नयाँ निबासमा सरे । त्यतिबेला सो घर भत्काइएको थिएन ।
अहिले पुरातात्विक, सामरिक, ऐतिहासिक दृष्टिले महत्वपूर्ण सो घर भत्काएर सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी को निवासका लागि आधुनिक भव्य घर निर्माण गरेको छ । वुद्धिबल रानाको सो घरलाई पुरातात्विक संरचना नहुनसक्ने प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई बताउँछन् । ‘पक्कै पनि त्यो घर पुरातात्विक सम्पदाको सूचीमा नहुनुपर्छ’ प्रजिअ भट्टराईले शंका गरे ‘भएको भए सहायक सिडियोको निवास जस्तो महत्वपूर्ण भवन निर्माणका लागि विवादास्पद हुने गरी पुरातात्विक संरचना भत्काइन्नथ्यो ।’ पुरातात्विक संरचनाको संरक्षण गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाइ छ । गोरखा नगरपालिका वडा नं. ६ कोकार्यालयले गोरखा संग्रहालयदेखि गोरखा दरबारसम्म पैदल हिडेर जाने सिँडी भत्काएर ढलान गरेर मोटरेबल बाटो बनाएको छ ।
गोरखा दरबार परियोजना लागु भएपछि काटेको ढुङ्गा छापेर स्तरोन्नती गरिएको सो सिँढी भत्काएर यसैबर्ष १० लाख रुपियाँ खर्च गरी करिब ७० मिटर लामो सडक निर्माण गरिएको हो । पुरानो संरचना भत्काउने नभत्काउने बिषयमा तल्लो टोल र उपल्लो टोलको विवाद समेत भएको थियो ।सोही वडाले पाटेचौरको बाटोमा पनि पुरातत्व विभागले छापेको ढुंगा निकालेर ढलान गरेर सडक बनाएको छ ।
‘कमसेकम बिरामी हुँदा घरसम्म एम्बुलेन्स त पुग्नुप¥यो नि’ वडा अध्यक्ष नारायण अर्यालले भने, ‘त्यसैले स्थानीयको मागको आधारमा हामीले निर्णय गरेका हौं ।’ पुरातात्विक सम्पदा पर्यटकले मन पराउँछन् भन्दैमा आफूहरु विकासको पूर्वाधारबाट बञ्चित हुनु नपरोस् भन्ने स्थानीयको मागलाई सम्बोधन गरेको वडा अध्यक्ष अर्यालले बताए ।
पुरातात्विक सम्पदामाथि आक्रमण भइरहेका बेला पुरातत्व विभागले पनि प्रचीन सम्पदामा आँच आउने काम गरेको छ । चारसय बर्षभन्दा पुरानो ऐतिहासिक गोरखा दरबारको जगमा सिमेन्ट ढलान गरेको छ । माटो, चुनासुर्की लगायतका प्राचीन सम्पदा निर्माणका बेला प्रयोग गरिएका सामग्रीको सट्टा सिमेन्ट प्रयोग गरिएको गोरखा दरबार हेरचाह अडले जनाएको छ ।
सम्पूर्ण जिम्मेवारी बिभागको भएकाले आफूहरुलाई यसबारे केही थाहा नभएको हेरचाह अड्डाका सूचना अधिकृत रामेश्वर कट्टेल बताउँछन् । ऐतिहासिक जिल्ला गोरखाका ऐतिहासिक तथा पुरातात्विक धरोहरमाथि आक्रमण बढ्न थालेको छ । स्थानीय तह, पुरातत्व बिभाग तथा भौतिक योजना मन्त्रालयले पुरातात्विक सम्पदा नष्ट गर्दै आधुनिक शैलीले विकास निर्माणको काम गर्न थालेको छ ।भूकम्पले गोरखा दरबार भत्काएपछि त्यहाँको पृथ्वीनारायण शाहको गद्दी, पृथ्वीनारायण शाहलाई सानो छँदा सेकेको अखण्ड अग्नीकुण्ड, हात्तिसारको पनि संरक्षण नभएको स्थानीय पुरुषोत्तम अर्याल बताउँछन् । गोरखा दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचीको प्रस्ताब सूचीबाट समेत हटाएकोमा उनले दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्