
रातमा खालि हुन्छन् श्यामचेतमा १३४ घर
‘हामी यतिबेलासम्म आ(आफ्नै घरमा हुन्छौं’, आरुघाट गाउँ पालिका १ श्यामचेतका कुमार लामाले भने, ‘अब छ बजेतिर सबैले घर छोड्छन् । गाउँ नै खालि हुन्छ ।’ १५० घरधुरी रहेको श्यामेचतका १३४ घरधुरी रातमा खालि हुने उनले बताए ।
गाउँभन्दा माथिबाट आएको पहिरो गाउँमा पसेपछि गाउँलेहरु त्रसित भएका हुन् । बिगत १५ दिनदेखि पहिरो झर्न थालेको र केहीदिनअघिदेखि निरन्तर पहिरो आएपछि १३४ घरधुरी रातका बेला बिस्थापित हुने अर्का स्थानीय कर्मा लामा बताउँछन् ।
‘पहिलो चरणमा २० घर बिस्थापित थिए । उनीहरुलाई पुलिस आएर स्कूलमा बस्न आग्रह गरेर गयो’, कर्माले भने, ‘अहिलेचाहिँ धेरैजसो गाउँलेले घर छोडिसके ।’ पहिले एकछेउबाट पहिरो गएको, पछि गाउँको बिचबाट छेडेर गएको उनले बताए ।
घर छोड्नेहरु आरुघाट गाउँपालिका को वडा नम्बर २ को आफन्तको घरमा गएर आश्रय लिने गरेका छन् । ‘कोहीकोहीचाहिँ सुत्न मात्र आफन्तको घरमा जान्छन्, कोही(कोहीले त सरसामान उठाए लगिसकेका छन्’, कुमार लामाले भने, ‘दिनभरि पहिरो फाल्ने, राती भएपछि आफन्तको घरमा सुत्न जाने र बिहान छ सातबजेतिर आफ्नै घरमा फर्किन्छन् । यसरी नै गाउँलेको दिन बितिरहेको छ ।’ गाउँलाई पहिरोले घेरा हालेकाले गाउँलेहरु त्रसित भएको उनले बताए ।
‘हाम्रो त बिजोग भएको छ । गाउँलेहरुको रुवाबासी छ’ कर्माले भने, ‘हिजो प्रहरी आयो, निरीक्षण गरेर स्कूलमा गएर बस्नु भनेर फर्किए ।’ उनीहरुलाई जिल्ला विपद व्यबस्थापन समिति र गाउँपालिका ले एकसय थान तारजाली उपलब्ध गराएको थियो । तर त्यसलाई पनि नाघेर पहिरो झरिरहने गाउँलेहरु बाउँछन् ।




