| सोमवार, अशोज १८, २०८३

कुटपिट र तोडफोड गर्नेले घटना नदोहोरिने भन्दै माफी मागेपछि सोमवारबाट द्रब्यशाहमा पढाई हुने

गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसमा सोमवारबाट पढाई सुरु हुने भएको छ । अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस प्रमुखलाई कुटपिट र क्याम्पसमा तोडफोड गरेको विषयमा गल्ती स्विकारगर्दै माफि मागेपछि पढाई सुरु हुने भएको क्याम्पसले जनाएको छ ।

फागुन १ गते जनयुद्ध दिबसको अवसरमा सरकारले बिदा दिएको विषयमा क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले सामाजिक सञ्जालमा बिरोध गरेर स्टाटस लेखेको भन्दै अखिल क्रान्तीकारीका क्याम्पस इकाई अध्यक्ष अनिस अर्यालको नेतृत्वमा एक समुहले कुटपिट तथा तोडफोड गरेको थियो ।

उक्त घटनापछि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले अनिश्चितकालीन पठनपाठन बन्दको घोषणा गरेको थियो । घटनामा संलग्नलाई कानुनी कारवाही नगरिएको भन्दै गत शुक्रवारदेखि क्याम्पस अनिश्चितकालीन बन्दको घोषणा स्वीयूले गरेको थियो ।

‘विद्यार्थीहरुले गल्ती कमजोरी भयो भन्दै माफि मागे, फेरी यस्ता घटना दोहोरिए कानुन बमोजिम भोग्न तयार छौँ भने, सोमवारदेखि पठन पाठन सुरु गर्ने लगायतका विषयमा लिखित सहमती भएको छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनुपम श्रेष्ठले भने ।

छलफलमा विद्यार्थीहरुले क्याम्पस प्रमुखले स्टाटस नलेखेको भए घटना नहुने बताएका थिए । उक्त विषयमा क्याम्पस प्रमुखले आत्माआलोचना गर्ने र कुटपिट र तोडफोडमा संलग्नले माफि माग्दै यस्ता घटना नदोहोरिने लिखित प्रतिवद्धता गरेपछि मिलापत्र भएको प्रहरीले जनाएको छ ।

छलफलमा क्याम्पस संचालक समिति अध्यक्ष सित्तलकाजी मास्के, क्याम्पस प्रमुख रामचन्द्र दुवाडी, प्राध्यापक संघका अध्यक्ष कुशलाल श्रेष्ठ, स्वीयू सभापति प्रविण बस्नेत, कुटपिटमा संलग्न विद्यार्थीहरु अनिस अर्याल, राजन आले मगर, बिष्णु पाण्डे, माओवादी केन्द्रका नेता ध्रुब भट्ट, रामहरी केसी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्