
बुद्ध माविका छात्राबासका विद्यार्थीहरुलाई लत्ताकपडा र सिर्दिबास, ल्वो, विहिका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा रहेको बुद्ध माविको छात्राबासमा अध्ययनरत बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरिएको छ । विद्यालयको छात्राबासमा अध्ययनरत बालकालिकाहरुका केही राहत होस भन्ने उद्देश्यले लत्ताकपडा वितरण गरिएको किमोलुङ फाउन्डेशनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए ।
विद्यालयको छात्राबासमा रहेका विद्यार्थी सहित शिक्षकहरु गरी एक सय ७५ जनालाई न्यानो कपडा, कम्मल, म्याटे«स, सिरानी, टुथब्रस, टुथपेष्ट, साबुन लगायतका सामग्री वितरण गरिएको लामाले जानकारी दिए ।
यसअघि त्यहाँका बालकालिकाहरुलाई छात्राबास र उनीहरुको शरीरमा नुवाइधुवाई गरिएको थियो । केही बालबालिकामा लुत्तो र चुम्रा परेकाले उनीहरुलाई औषधी लगाएको उनले बताए ।
सोहि कार्यक्रमको अवसरमा सिर्दिबास स्वास्थ्य चौकीका लागि विरामी चेकजाँच गर्दा छिटै रिर्पोट प्राप्त हुने कुल्डर काउन्टर मेसिन, रोलर, माइक्रोस्कोप, स्टपलाइजर, अटोक्लिव लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको उनले बताए । यसले विरामीको स्वास्थ्य अवस्थाको बारेमा जाँच अव सदरमुकाम जाने बाध्यता हट्ने बताइएको छ ।
त्यस्तै, ल्वोको स्वास्थ्य चौकीका लागि बर्थिङ सेन्टरमा प्रयोग हुने डेलिभरी बेड एउटा, एक थना वामर मेसिन, बेट मेसिन, कम्मल, विविसेट एक थान लगायतका स्वास्थ्य साम्रगी पठाएको उनले बताए । विही बर्थिङ सेन्टरलाई पनि स्वास्थ्य सामग्री पठाएको उनले बताए ।
यस्तै, सिर्दिबासमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा १५ सय जना भन्दा धेरैले चेकजाँच गर्न आएका थिए । चुमनुब्रीको ल्हो, प्रोक, चुम्चेत र धार्चेको पनि दोभान लगायतका स्थानबाट स्थानीयहरु चेकजाँच गर्न आएका थिए ।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण, कान, नाक, घाँटी रोग, स्त्रीरोग, अकुपंचर र हेपाटाइटिस जाँच तथा खोप सेवा संचालन गरिएको थियो ।
किमोलुङ फाउण्डेशनको आयोजना तथा हिरो, इलभेट नेपाल र चुमनुब्री गाउँपालिकाको सहयोगमा स्वास्थ्य शिविर र लत्ताकपाड तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष निमा लामाको प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा पालिका उपप्रमुख लक्ष्मी गुरुङ, वडा अध्यक्ष रामकुमार गुरुङ, स्वास्थ्य शिविरमा खटिएका ११ जना डाक्टर, विद्यालयका शिक्षक, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।




