| आइतवार, कार्तिक २९, २०८३

नयाँ जिल्ला दररेट कायम

आर्थिक वर्ष २०७५\०७६ को लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समितिको गत शुक्रबारको बैठकले जिल्लाका विभिन्न क्षेत्रमा लाग्ने कामदारको खर्च, ढुवानी खर्च लगायतका विभिन्न शिर्षकको दररेट निर्धारण भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । ‘आर्थिक वर्ष २०७५÷०७६को लागि साउनको पहिलो हप्ता भित्र जिल्ला दररेट निर्धारण गर्नुभन्ने केन्द्रको निर्देशन अनुसार हामीले पनि दररेट निर्धारण गरेका हौँ’ श्रेष्ठले भने ‘विभिन्न निर्माणको क्षेत्रमा लाग्ने दक्ष कामदार, अदक्ष कामदारको रेट देखि खच्चडले सामान ढुवानी गर्दा कति लिन पाउने भन्ने सबै टुंगो लागेको छ ।’ जिल्ला दररेट समितिले अदक्ष कामदारको अहिले सम्मकै सबै भन्दा धेरै तोकेको छ । तीन वर्ष पहिले प्रतिब्यक्ति प्रतिदिन ५८० रहेकोमा अहिले सातसय रुपैँया कायम गरेको छ । गत वर्ष ६४० रुपैँया थियो ।
त्यस्तै दक्ष कामदारले प्रतिदिन काम गरेको नौ सय ८० रुपैँया पाउनेछन् । गत वर्ष ९ सय कायम भएको उक्त दररेट अहिले ८० रुपैँया बढेको हो । त्यस्तै झोलुंगे पुलमा काम गर्ने कामदारले प्रतिदिन प्रति ब्यक्ति १२ सय रुपैँया पाउँछन् । पुलको लठ्ठा जोड्ने, तार टाँग्ने कामदारले एक दिनको १२ सय रुपैँया पाउने छन् । फलामे सामाग्री, कर्कट पाताहरु बोक्ने भरियाले भने प्रतिकेजी चार रुपैँया ३६ पैसा पाउनेछन् । अप्ठेरो सामानहरु जस्तै फलामे पाईपहरु बोक्ने भरियाहरुका लागि भने प्रतिकेजी ७ रुपैँया २६ पैसा तोकीएको छ ।
अलैँची धेरै हुने मध्येको जिल्ला गोरखामा अmलैँचीको विरुवाको पनि सरकारी विक्रि दर तोकिएको छ । अब किसानले प्रतिगोटा विरुवा १० रुपैँयाको दरले विक्रि गर्न सक्नेछन् । त्यस्तै खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकेजी दुई रुपैँया तीन पैसा लाग्ने गरेर रेट तोकिएको छ । ट्रकले पक्की सडक भएको क्षेत्रमा सामान बोक्न परे प्रतिटन प्रतिकिलो १८ रुपैँया सात पैसा लिन पाउने भएको छ । त्यस्तै कच्ची सडक भएको क्षेत्रमा सामान ढुवानी गरे प्रतिटन प्रतिकेजी ४८ रुपैँया रेट हुनेछ । ट्रयाक्टर मात्र चल्ने क्षेत्रमा ट्रयाक्टरले प्रतिकेजी १०५ रुपैँया लिन पाउनेछ ।
जिल्लाको उत्तरी गाविसहरुका लागि हेलीकोप्टरले सामान ढुवानी गर्दा लाग्ने भाडा दर समेत तोकिएको छ । जिल्लाको सिर्दीबास भन्दा माथीका साविकका गाविसहरुमा सामान लैजान परे प्रतिकेजी एकसय २६ र त्यो भन्दा तलको क्षेत्रमा प्रतिकेजी १०५ रुपैँया कायम भएको प्राविधिक कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । जिल्ला दररेट निर्धारण समितिले इट्टा, ढुंगाा, सिमेन्ट गिटी लगायतको सामाग्रीहरुको समेत विभिन्न गुणस्तरको आधारमा दररेट निर्धारण गरेको छ ।
त्यस्तै पुरातात्वीक निर्माण सामाग्रीहरुको हकमा काठमाडौँ उपत्यकाको लागि पुरातत्व विभागले तोकेको दररेटमा ढुवानी भाडा समाबेश गरी मूल्य कायम हुने जिल्ला दररेट निर्धारण समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्