| आइतवार, कार्तिक २९, २०८३

यस कारण रोकियो गोरखा दरबार पुनर्निर्माण

दरौँदी ः तीन वर्ष अघिको भूकम्पले ध्वस्त गोरखा दरबार पुनर्निर्माणको काम रोकिएको छ । दरबार पुनर्निर्माण को जिम्मा पाएको पचली सिवाको जेभी कन्स्टूक्सनले विभिन्न निर्माण सामाग्री निर्माण स्थलमा पु¥याउन नसक्दा काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।
‘१५ दिन भयो काम ठप्पै छ’ कट्टेलले भने ‘हामीले यहाँ कामदारलाई किन काम नगरेको भनेर सोध्दा निर्माण सामाग्री छैन त्यहि भएर काम नभएको भन्छन् । ठेक्काको सम्झौता भएको नौ महिना वित्यो अहिले सम्म प्रगति यति प्रतिशत भयो भनेर भन्न सक्ने अबस्था छैन ।’ दरबार पुनर्निर्माणको लागि जगमा भ्वाङ भेटिएपछि तिनै भ्वाङहरु पुर्न र जगहाल्ने ठाउँ मजबुत बनाउने काम बाहेक अन्य कुनै काम भएको छैन । गत बैशाख ७ गते जग पुजा गरेपनि अहिले सम्म जग हाल्ने काम भएको छैन । करिब चारसय वर्ष पुरानो गोरखा दरबार २०७२ बैशाख १२ को भूकम्पले ध्वस्त पारेको थियो ।
दरबार निर्माणको जिम्मा पाएको कम्पनीले चारकरोड ३७ लाख रुपैँया गत वर्षको कात्तिकमा ठेक्का पाएको थियो । साँढे दुई वर्षमा पुरानै शैलीमा निर्माण सम्पन्न गर्नेगरी पुरातत्व विभागसँग ठेक्काको सम्झौता भएको कट्टेलले जानकारी दिए ।
ठुलो आँगनमा हेभी गाडी बन्द
सदरमुकामकै ठुलो आँगन क्षेत्रमा हेभी गाडीहरुलाई प्रतिबन्द हुँदा निर्माण सामाग्री लैजान नसकेर काम रोकिएको गोरखा दरबार पुनर्निर्माण परियोजनाकी प्रमुख मञ्जुसिंह भण्डारीले जानकारी दिईन् ।
‘चासो अहिले सबैलाई यहि छ’ भण्डारीले भनिन् ‘दरबार जान ठुलो आँगन हुँदै जानुपर्ने, ठुलो आँगनको बाटो ठुला लोड भएका गाडी हिँड्न नपाउने रहेछ त्यहि भएर समस्या भएको हो ।’ भण्डारीले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी आवश्यक सहयोग लिई स्थानीयसँग छलफल गरेर सामान लैजाने तयारीमा पुरातत्व विभाग रहेको बताईन् ।
चारसय वर्ष पुरानो गोरखा दरबार !
१९९० को भूकम्पले समेत क्षति नपुगेको दरबारमा २०७२ वैशाखको भूकम्पले जगैसम्म धक्का दिएको थियो । भूकम्पले ध्वस्त पारेपछि गोरखा दरबार निर्माण भएको ३ सय ८८ वर्ष पछि फेरी नयाँ दरबार बनाउन लागिएको हो । विसं १६८६ मा राजा राम शाहका पालामा निर्माण भएको दरबार अहिले पुननिर्माण गर्न लागिएको हो । भूकम्पको कारणले मुलदरबार, गोरखनाथ गुफा, लक्ष्मी मन्दिर, रोट पकाउने ठाउँ सबै ध्वस्त भएको थियो । भूकम्पपछि उक्त दरबारको जगबाट पानी छिरेर अन्यत्र र नजिकै रहेको गोरखनाथ गुफामा निस्कने गरेको थियो ।
१८८३ सालका इट्टाहरु भेटिए !
पृथ्वीनारायण शाहलगायतले प्रयोग गरेको राजगद्दी भने पुनर्निर्माण अवधिभरका लागि सुरक्षित स्थलमा सारेर राखिएको कट्टेलले जानकारी दिए । जगैसम्म भत्काउने क्रममा विसं. १८६३ अभिलेख भएका बुट्टेदार दुई वटा इँटाहरूसमेत भेटिएका छन । ति सबै हेरचाह अड्डाले सुरक्षित राखेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि शाह वंशका १० जना राजाले उक्त दरबारबाट शासन चलाएको इतिहास छ ।
भक्तजनलाई समस्या !
दरबार पुनर्निर्माणको कामले गोरखा दरबार आउने भक्तजनलाई भने समस्या भएको कट्टेलले बताए । ‘एक त दरबार नै भत्किएको छ’ उनले भने ‘अर्काे कुरा सामानहरु बाटोमा छन् । पुजाआजा गर्न सजिलो ठाउँ छैन । अहिले त झन साउनको महिना भक्तजनको भिड छ । समस्यै समस्या छ ।’ दरबार भत्किँदा दशैँको बेलामा दरबार हेरचाह अड्डाले सबै भन्दा सास्ती खेप्नु परेको उनले बताए । ‘दशैँमा समस्या हुन्छ । यहाँ धेरै बली दिनुपर्ने हुन्छ । राँगो बलि दिनलाई त मौलो राख्ने ठाउँ पनि छैन । कहाँ कसरी गर्ने पोहोर त जीर्ण अबस्थामै दरबार थियो । अहिले त भत्काएर खाली भएको ठाउँमा पुराना सामानहरु राखिएको छ ।’
नयाँ दरबार बनाउँदा प्रयोग गर्न मिल्ने झिँगटी, काठ, इँटा लगायतका सामग्रीहरु सुरक्षित ठाउँमा राखिएको उनले जानकारी दिए । गोरखा दरबार भत्काउन मात्र दुई महिना समय लागेको थियो । भूकम्पले ध्वस्त पारेको दरबार परिसर भित्रका राम शाह चौतारो, पाहुना घर, सिँढी बाटो, छानाहरू, गोरखनाथ मन्दिर, रोटपाटी र दमै पाटी मर्मत गरि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्