
काम चोर ठेकेदारलाई म्याद थप किन ?
जिल्लाको ठुलो मध्येको एक ब्यापारिक केन्द्र पुग्ने लुईँटेल भञ्ज्याङ– भच्चेक सडक खण्डको कालोपत्रे गर्ने काममा ठेकेदारको बदमासीका कारण निर्धारित समयमा कालोपत्रे हुन सकेन । भूकम्पीय आपत्कालिन सहायता आयोजना अन्तरगत निर्माणाधिन लुईँेटल भञ्ज्याङ(भच्चेक सडक खण्डको ३० दशमलब पाँच किलोमिटर सडक स्तरउन्नती र कालोपत्रे गर्न ठेकेदारले लापरबाहि गरेको कारणले समयमै काम सम्पन्न हुन नसकेको हो ।
तर, समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई जिल्ला प्राविधिक कार्यालय गोरखाले जनाएको छ । दुई खण्डमा स्तरोन्नती सँगै कालोपत्रे हुने सो सडक खण्डको ठेक्का पनि भिन्न दुई कम्पनीले पारेका छन् । सडकको ० देखि १७ दशमलब ६ सम्म अम्मर लामा जेभी कन्स्ट्रक्सन र बाँकी खण्डमा लामा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाए पनि काममा ढिलासुस्ती भएको हो । असार मसान्त सम्ममा निर्माण नसक्ने पक्का भएपछि जिल्ला प्राविधिक कायालयले उक्त सडकको म्याद थप गरिदिएको छ । ‘अहिले जिल्लामा यि दुई चरणको ठेक्काको मात्रै म्याद थप भएको छ’ प्राविधिक कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले भने ‘आगामी जनवरी सम्म काम सक्ने गरेर म्याद थप भएको छ ।’ निर्माण कम्पनीहरुले २०१६ को डिसेम्बर १२ मा सम्झौता गरेर २०१८ को जुन महिना भित्र काम सम्पन्न गर्ने भनेर जिम्मा पाएका थिए । भूकम्प आपत्कालिन सह आयोजना अन्तरगत सो सडक एसियाली विकास बैंकको ६० करोड ६३ लाख रुपैँयाको लागतमा बन्न लागेको हो । पहिलो चरणको सडक निर्माणकम्पनीका प्रमुख भद्रबहादुर शाहीले अटेरी गर्ने गरेको प्राविधिक कार्यालयले स्रोतले जनाएको छ ।
‘यो कम्पनीको फिल्डमा दुई वटा क्रसर पनि छ’ प्राविधिक कार्यालयका एक कर्मचारीले भने ‘घरहरु पर्नेठाउँको मुआब्जाको कुरा पनि टुंगिएको छैन । यति काम गर्छाैँ उति काम गर्छाैँ भनेर तार्गेट पनि दिन्छन् तर काम भने सुस्त गर्छन ।’ एडिबीकै स्वीकृतीमा पहिलो पटक उक्त आयोजनाको म्याद थप भएको हो । जिल्ला यातायात गुरु योजनाले प्राथमिकता दिएको सो सडकको पहिलो खण्ड भन्दा दोस्रो खण्डमा केहि कामहरु भएको छ ।
उक्त सडक तीन दशमलब ७५ मिटर चौडाई र त्यस बाहेक दायाँ र बायाँ ० दशमलब ७५ मिटर फसटपाथ समेत निर्माण हुने गरी काम भइरहेको हो । प्राविधिकहरुको अनुसार केहि ठाउँ बाहेक अधिकांश ठाउँमा चौडा गर्ने, दायाँबायाँ पर्खाल लगाउने कामहरु भएको छ । हर्मीको केहीघरहरुको मुआब्जाको काम टुंग्याउन समस्या भएको हो । जिल्लाका अन्य विभिन्न आयोजनाको भने साउन लागेपछि म्याद थप गर्ने तयारी गरिएको छ ।




