तिब्बती बजारबाट खुलेआम आउँछ म्याद गुज्रिएका दैनिक उपभोग्य सामान
शिब उप्रेती । गोरखाको हिमाली भेगमा ठूलो परिमाणमा म्याद गुज्रेका दैनिक उपभोग्य सामानहरु प्रयोग हुने गरेको पाइएको छ । छेकम्पार, चुम्चेत लगायतका सीमा क्षेत्रमा तिब्बती बजारबाट म्याद नाघेका सामान ल्याएर बिक्री बितरण हुने गरेको स्थानीय निमा लामाले जानकारी दिए ।
सस्तो भाउमा पाउने भएकाले कतिपय स्थानीय पसलेले तिब्बती बजारबाट जानाजान म्याद गुज्रेको सामान ल्याउने गरेको स्थानीय शिक्षक छिरिङ फुञ्जो बताउँछन् । ‘पसलेले नै म्याद नाघेको सामान किनेर ल्याउँछन्’, उनले भने, ‘म्याद नसकिएको सामान भन्दा दुईचार पैसा सस्तोमा पाउने भएकाले कोहीकोहीले तिब्बती बजारबाट जानाजान म्याद नाघेको सामान ल्याएर बेच्ने गरेका पनि छन् ।’ अनुगमन गर्ने चलन नभएकाले यसबारे कसैले पनि ध्यान नदिने उनले बताए ।
सीमाना नजिकको तिब्बती बजारबाट व्यापारीहरुले छेकम्पार र चुम्चेतको बजारमा नुडल्सहरु, क्यान जुस, क्यान बियर, प्याकिङ गरिएको माछा, मासु, बिस्कुट, कुकिज, चामल लगायतका सामानहरु ल्याउँछन् ।
हिमाली भेग भएकाले म्याद नाघेको सामानले अहिलेसम्म कुनै उपभोक्तालाई असर नगरेको स्थानीय चुम कल्याण समितिका अध्यक्ष निमा लामाको भनाइ छ । ‘म्याद नाघेको सामानले कसैलाई असर गरेको भनेर मैले अहिलेसम्म सुनेको पनि छैन’, उनले भने, ‘त्यसैले होला, सामान किन्दा कसैले पनि म्याद हेर्ने चलनै छैन ।’ यसले दीर्घकालीन असर गर्छ भन्ने बारेमा स्थानीयबासी सचेत नभएको उनको भनाइ छ ।
तिब्बती बजारका कतिपय व्यापारीहरुले बाहिरि खोलमा र भित्रि खोलमा भिन्न भिन्न म्याद लेखेको सामान पठाउने गरेको स्थानीयको भनाइ छ । ‘बाहिरको ठूलो खोलमा हेर्दा म्याद बाँकी रहेको देखिन्छ । भित्रको सामानको पिसमा हेर्दा म्याद सकिइसकेको हुन्छ’ शिक्षक छिरिङ फुञ्जो भन्छन्, ‘धेरैजसो सामानको म्याद एकबर्षअघि नै सकिएको हुन्छ ।’ नेपाली बजारबाट पनि गएको सामानको पनि म्याद सकिएको पाइने उनको भनाइ छ । ‘विशेष गरी औषधीहरु म्याद सकिइसकेको पाइन्छ’, उनले भने, ‘खाद्यान्नहरुको पनि म्याद सकिएको भेटिन्छ ।’
म्याद गुज्रिएको सामान गाउँमा छ्यापछ्याप्ती पाइने चुमनुब्री गाउँपालिका ७ छेकम्पारका वडा अध्यक्ष पासाङ फुञ्जोले पनि स्वीकार गरेका छन् । ‘त्यो बिषयतिर त कसैले पनि ध्यान दिएको छैन । कसले नियन्त्रण गर्ने हो थाह पनि छैन’, उनले भने, ‘जिल्लाबाट नियन्त्रण गर भनेर आदेश आयो भने हामी नियन्त्रण गरिहाल्छौं ।’ तिब्बती बजारबाट ल्याएर लामो समयसम्म गोदाममा राख्ने भएकाले दैनिक उपभोग्य सामानको म्याद सकिएको हुनसक्ने उनले बताए ।
उनका अनुसार छेकम्पारस्थित तिब्बती नाका सँधैका लागि खुल्ला भएपनि बजार टाढा पर्ने भएकाले व्यापारीहरु एकैचोटी धेरै सामान ल्याएर भण्डार गरी राख्ने गर्छन् ।
सडक सञ्जालले नजोडिएको छेकम्पार, चुम्चेत लगायतका तिब्बती सीमानाका बस्ती पुग्न सदरमुकामबाट पाँच दिनसम्म लाग्ने गर्छ । त्यस भेगमा नेपाली बजारको भन्दा तिब्बती बजारको सामान आउने गर्छ । टाढा पर्ने भएकाले म्याद नाघेको उपभोग्य बस्तुको बिषयमा ध्यान पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले स्वीकार गरे । ‘अब हामी प्रहरी र सम्बन्धित अरु सरकारी कर्मचारी मार्फत यसको अनुगमन गर्नेछौं’, प्रजिअ भट्टराईले भने । गोरखाको छेकम्पार नाका सँधै खुल्ला रहन्छ भने सामागाउँ नाका बर्षका एक फेर १७ दिनका लागि मात्र खुल्ने गरेको छ ।




