
पहिरोले गोरखाका डेढसय घर जोखिम,सात घर बिस्थापित !
लगातार झरीपछिको पहिरोले आरुघाट गाउँपालिका १ श्यामचेतको सात घर बिस्थापित भएका छन् । गाउँमाथिबाट पहिरो झर्न थालेपछि सोही गाउँका एकसय ५० घर जोखिममा रहेका स्थानीय कर्मा लामाले जानकारी दिए ।
लामाका अनुसार श्यामचेतका केशबहादुर लामा, नरबहादुर लामा, सागर लामा, सर्की लामा, फूलबहादुर लामा, भक्तबहादुर लामा र लानम लामा बिस्थापित भएका हुन् । ‘पहिरोको डरले सात घरपरिबार सिद्धार्थ बनस्थली माविको आसपास अस्थायी गोठ बनाएर बस्न गएका छन्’, उनले भने, ‘गाउँका अरु मान्छे पनि डराएर रातको समयमा अलिअलि सुरक्षित ठाउँका आफन्तको घरमा बस्न जान्छन् अनि दिउसोको समयमा आफ्नै घरमा फर्केर आउने गरेका छन् ।’ तीनबर्षअघि भूकम्पका बेला गएको पहिरो अहिले पानी पर्न थालेपछि फेरि झर्न थालेको स्थानीयबासीको भनाइ छ ।
स्थानीयबासीका अनुसार सो ठाउँमा गतबर्षको साउन २७ गते पनि पहिरो गएको थियो । अहिले पनि सोही ठाउँमा पहिरो जान थालेपछि स्थानीयबासी त्रसित भएका छन् । पहिरोको पाँगो माटो गाउँभित्रै पसेपछि गाउँलेहरु बिस्थापित भएका हुन् । ‘हामी १५० घरधुरीका सबै गाउँले मिलेर दिनभरि पहिरोभन्दा माथि कुलो काटेर पानी कटाउने गर्छौं’, स्थानीय कर्मा लामाले भने, ‘करिब तीनसय मिटर फराकिलो पहिरो यस्तो अस्थायी समाधान गरेर कसरी रोकिन्छ र ?’
पहिरो पिडितहरु पहिरो नियन्त्रणका लागि सहयोग माग्न आएका गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए । ‘लगातार झरी पर्न थालेपछि पोहर पहिरो गएको ठाउँमा अहिले पनि गएको छ’, दाहालले भने, ‘उनीहरुले पहिरोबाट संरक्षणका लागि निवेदन दिएका छन् । तत्कालका लागि एकसय ५० थान तारजालीका लागि बजेट दिने निर्णय गरेका छौं ।’ माथिबाट झरेको पहिरोले आरुघाट गाउँपालिका कार्यालयको भवनको एक कोठा क्षतिग्रस्त बनाएको पनि दाहालले बताए । ‘मेरो कार्यकक्षमा पहिरोबाट आएको ढुंगाले हानेर क्षतिग्रस्त भएको छ’, उनले भने, ‘मान्बुकै शंखदेवी प्राबिको भवन पनि पहिरोले क्षतिग्रस्त भएको छ ।’ विद्यालय भवन तल पनि पहिरो झरेको र भवन माथिबाट आएको पहिरो पनि विद्यालय भवनसम्म आइपुगेको उनले बताए ।
लगातारको पहिरोले धार्चे गाउँपालिका १ र २ केरौंजामा विद्युत वितरण गरिएको लघु जलविद्युत आयोजना क्षतिग्रस्त भएको छ । ‘आयोजनाको कुलो पहिरोले लगेपछि विद्युत उत्पादन बन्द भएको छ’ गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘विद्युत उत्पादन बन्द भएपछि केरौंजा गाउँमा सबै टेलिफोन समेत बन्द भएको छ ।’ पहिरोको उच्च जोखिम सो गाउँमा सञ्चार सम्पर्क बिच्छेद भएपछि गाउँले चिन्तित भएको उनले बताए ।
पहिरोले चुमनुब्री गाउँपालिका ५ बिहिको पुल बगाएको छ । ‘बिही र स्याराङ जोड्ने सिदालको पुल बगायो । मनास्लु जाने बाटोमा पर्ने भुर भन्ने ठाउँमा ठूलो पहिरो गएर आवतजावत बन्द भएको छ’ वडा अध्यक्ष राजा लामाले भने ।
निरन्तरको बर्षातपछि गाउँको सोलार बत्ती पनि बल्न छोडेको सोही गाउँपालिका ४ गपका धावा लामाले बताए ।
लगातारको बर्षातपछि को पहिरो ले गोरखा नगरपालिका ११ का विष्णुबहादुर बस्नेतको दुईतले घरमा क्षति पुगेको छ । पहिरोले घर चर्किएपछि बस्नेतको परिबार बिस्थापित भई आफन्तको घरमा शरण लिन पुगेको प्रहरी एसपी बिमल बस्नेतले जानकारी दिए ।




