
कहाँ गए तालीम लिएका जनशक्ति ?
जिल्लाबाट धेरै युवा कामका लागि विदेशी भूमिमा होमिने गरेका छन । भूकम्पपछिको पुनर्निर्माणमा गाउँमा दक्ष जनशक्ति र युवाको आवश्यकता भएको समयमा विदेशिने युवाको लर्को घट्न सकेको छैन । जिल्ला प्रशासनमा राहदानीको फर्म भर्ने यूवाहरुको संख्या पनि त्यत्ति नै छ । भूकम्पको केन्द्र विन्दु गोरखामा भूकम्प पछि घर पुननिर्माणमा दक्ष जनशक्तिको अभाव गाउँगाउँमा छ ।
विभिन्न संघसंस्थाले घर बनाउन केहि दिनको तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरेको बताउने गरेपनि उनीहरु केहि दिनमा न दक्ष नै हुन्छन् न गाउँमा आवश्यक कामदार नै उत्पादन भएका छन् । तर, गोरखाको विभिन्न भूकम्पले ध्वस्त गाउँहरुमा घर निर्माणका लागि तराई मधेसका कामदारहरु आउनेक्रम बढेको छ । गोरखामा विभिन्न संघसंस्थाले लाखौँ रकम खर्चेर दक्ष जनशक्ति उत्पादन गरेको रिपोर्ट बनाए पनि अहिले गोरखामा भूकम्प पछिको पुननिर्माणमा कामदारको अभाव भएकै छ ।
पहाडका नागरिक कामका लागि विदेशी भूमिमा होमिइरहेका बेलामा मधेशका कामदाहरु भने पहाडमा घर बनाउन उकाली लागेका छन् । विदेशको भन्दा राम्रो कमाई आफ्नै नेपालको पहाडतिर हुने भएपछि लामो समयदेखि बाराको कलैयाका धीरलाल ठाकुर गोरखामा काम गर्दैछन् । ‘यहाँ काम गर्दा कमाई आच्छा नै छ’ ठाकुर भन्छन् ‘विदेश किन जाने यहाँ नै महिनाको ३० हजार भन्दा धेरै त खाएर र बसेर नै कमाई हुन्छ । भूकम्प गयो नी त्यस पछि यहाँ काम भ्याई नभ्याई छ । पहिले बजारहरुमा मात्रै काम हुन्थ्यो । अहिले त गाउँमा पनि पक्की घर बनाउन हामीलाई बोलाउन थालिएको छ ।’ ठाकुरकै नेतृत्वमा मात्र पनि गोरखामा १७ जनाको टोली घर बनाउने काममा खटिरहेको छ । तराई मूलका नागरिक विकास निर्माणका पूर्वाधार निर्माण, सडक निर्माण, जलविद्युत् कम्पनीको निर्माणलगायतका क्षेत्रमा धेरै रहेका छन् । तराई मूलका नागरिकलाई पहिला नै कामका लागि आएकाले सम्पर्क गरेर ल्याउने गरेका छन् ।
तराई मूलका नागरिक वर्षमा एकपटक अर्थात् पहाडी क्षेत्रमा काम रोकिएको समयमा मात्रै घर जाने गरेका छन् । दशैं तिहारको समयमा काम रोकिने भएकाले तराई मूलका नागरिक दशैंमा घर गएपछि छठ मनाएर पुनः काममा फर्किने गरेका छन । सदरमुकाममा र निर्माणदेखि गाउँमा सडक बनाउने काममा समेत तराईका मजदुर भेटिन्छन् । पहाडका कामदारहरु भने मधेशका कामदारको संख्याको तुलनामा केहि मात्र रहेका छन् । हाल गोरखामा करिब चार हजारको हाराहारीमा तराईका मजदूरले काम गरिरहेका छन् ।
भूकम्प पछिको पुननिर्माणमा पनि अधिकांश कामदार मधेदी रहेका छन् । ‘तराईका मजदुर विहानदेखि बेलुकासम्म काम गर्छन, निर्माण ब्यवसायी चन्दनबाबु खत्री भन्छन् ‘उनीहरूको काम रहरलाग्दो हुने र कामसमेत छिटो सम्पन्न हुने भएकाले निर्माण व्यवसायीको रोजाइमा तराई मूलका कामदार रहेका छन् ।’ दैनिक हजारदेखि १५ सयसम्म कमाई हुने र भत्ता तथा ओभरटाइम पनि पाउने भएपछि तराई मूलका नागरिक निरन्तर काममा लागिरहने निर्माण व्यवसायीको भनाइ छ । पछिल्लो समयमा गोरखाका अन्य विभिन्न संरचनाहरु निर्माणमा सुर्खेत, बाजुरा लगायतका जिल्लाका पहाडी क्षेत्रबाट पनि कामदारहरु गोरखा आउने गरेको खत्रीले बताए ।
राष्टिूय गौरवका आयोजनादेखि सडक, पुल, ठूलाठूला संरचना निर्माणलगायतका क्षेत्रमा तराई मूलका कामदार धेरै रहेका छन् । गोरखामा पनि निर्माणको अधिकांश काममा तराई मुलका कामदारहरु रहेको निर्माण ब्यवसायी संघ गोरखाले जनाएको छ । मधेशका कामदारहरु गोरखाको तल्लो क्षेत्र देखी उच्च पहाडी क्षेत्रहरुमा समेत काम गर्न पुगेका छन् ।




