
प्रचारप्रसारको अभावले हराएकी बिन्दवासिनीमाई
प्रचारप्रसारको अभावले गोरखा नगरपालिका ३ कान्तेस्वाँरामा रहेको बिन्दावासिनीमाई मन्दिरको पहिचान हराउँदै गएको छ । शाहवंशदेखि पूजाआजा गर्ने गरिएको उक्त मन्दिर संरक्षणको अभावले खण्डहर अबस्थामा पुगेको हो । केहीबर्ष अघिसम्म यहाँ भक्तजनहरुको भिड लाग्ने गरेपनि अहिले अत्यन्तै कम भक्तजनहरु आउने गरेको स्थानीय मैयामायाँ श्रेष्ठले बताईन् । ‘म यो ठाउँमा बिहे गरेर आएको पनि ७० बर्ष नाघि सक्यो’ उनले भनिन् ‘यो मन्दिरमा राजासाबहरु आएर पूजा गर्थे । यहाँ पूजा गर्न लाइन नै बस्नु पथ्र्यो । तर त अहिले धेरै मान्छे नै आउँदैनन् ।’
यहाँ भाकल गरेमा बिन्दावासिनी माइले पूरा गर्छिन् भन्ने भक्तजनमा बिश्वास रहेको पाइन्छ ।
ँआजभोलि यहाँ बिवाह, ब्रतबन्ध तथा भाकलका बलि चढाउन आएका मान्छे बाहेक अन्य दिन दुई तीन जना मात्रै भक्तजनहरु आउने गरेको अर्का स्थानीय मंगलप्रसाद श्रेष्ठ बताउँछन् । ‘यो मन्दिरको बारेमा धेरैलाई थाहै छैन्’ उनी भन्छन् ‘पहिले यहाँ दिनमा सयौँ मान्छेहरु आउने गर्थेँ । तर, आजभोली त्यती धेरै मान्छे आउँदैनन् ।’ यस मन्दिरमा राँगा, बोका, कुखुरा, हाँस, भेडा आदिको भाकल दिने गरिन्छ ।
राजा राम शाहाले तत्कालिन नारेश्वरका काशिनाथ तिवारी उपाध्यायलाई त्यस मन्दिरको दैनिक पूजा गर्ने जिम्मा दिएको बर्तमान पूजारी होमनाथ तिवारी पूजारी बताउँछन् । ‘त्यतिबेलादेखि अहिलेसम्म यहाँ तिवारीहरुले नै दैनीक पूजा गर्छन्’ उनले भने ‘मेरो जीजुवाहरुलाई त्यतीखेर ४० मुरी माटो जग्गा दिएर राजाले दैनीक पूजागर्न लगाएका थिए रे । अहिले हामी चार जना तिवारीहरु १५÷१५ दिनको पालो लगाएर पूजा गर्ने गर्छैँ ।’
यस मन्दिर भित्र सानो गुफा पनि छ र यहाँबाट पानी बगिरहन्छ जुन पानी देवीको नाबिबाट आएको भन्ने मान्यता रहेको पाइन्छ ।
मन्दिर मर्मत गरेर संरक्षण गर्न नसकेकाले भक्तालुहरु कम आउने गरेको उनले दाबी गरे । मन्दिरका लागि पर्याप्त बजेट नआएको र आएपनि सदुपयोग नभएको उनको भनाई छ । ‘यहाँको मन्दिर मर्मतका लागि भनेर दुई बर्ष अघि पाँच लाख बजेट आएको थियो’ उनले भने ‘पूजारीहरु कसैलाई थाहै नदिई समिति बनाएर काम गरे । त्यो पाँच लाख बजेटले मन्दिरमा टिनको छानो हाल्ने र एउटा ढोका बनाउने बाहेक अरु केही काम भएन् ।’




