
गोरखाका ९ जना ठेकेदार विरुद्ध प्रक्राउ पूर्जी जारी
गोरखाको विकास निर्माणको ठेक्का पारेर काम नगर्ने नौ जना ठेकेदार विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखाले पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमै जिल्लाका निर्माण ब्यवसायी संघको नेतृत्वसँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले यस्तो जानकारी गराएका हुन् ।
‘काम नगर्ने जिल्लाका नौ जना निर्माण ब्यवसायीलाई वारेन्टजारी गरिसकेका छौँ’ प्रजिअ भट्टराईले भने ‘हामीले काम नगर्ने निर्माण ब्यवसायीलाई तीन चरणमा विभाजन गरेका छौँ । कामको जिम्मा पाएको निर्माण कम्पनीले सम्बन्धीत कार्यालयको सम्पर्कमा नभएको र म्याद थप गर्न भन्दै पछि आउने गरेको एउटा, पहिलो चरणमा म्याद थपरे पनि काम सम्पन्न नगरेको, म्याद पनि नथपेको काम पनि नगरेकोलाई कामको मूल्याङ्कन गरी वारेन्ट जारी गरेका छौँ ।’ वारेन्ट जारी गरेका मध्ये एक जना वडा अध्यक्ष समेत रहेका ठेकेदार नारायण श्रेष्ठ भने पक्राउ पछि काम छिटै सम्पन्न गर्ने सहमती अनुसार छुटीसकेका छन् ।
आयोजना निर्माण सम्पन्न गर्न लापरवाही गर्ने ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेको उनले जानकारी दिए । उनका अनुसार पक्राउ पूर्जी जारी गरेकाहरुको खोजी भइरहेको छ । निर्माण ब्यवसायीहरुलाई तर्साउन भन्दा पनि सहयोग गर्ने वातावरण सृजना गर्न लागेको प्रजिअको भनाई थियो । ‘पैसा त हामी सँग भन्दा तपाईँहरुसँग धेरै होला तर, समयमै काम सम्पन्न गर्ने ठेकेदारहरुलाई हामीले सम्मान पत्र, कदर पत्रले सम्मान गर्न पाइयोस भन्ने हाम्रो अपेक्षा हो ।’ प्रजिअ भट्टराईले समयमै काम सम्पन्न नगर्ने अटेर गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने दोहो¥याए । गोरखाबाट १०५ जना काम नगर्ने ठेकेदारको विवरण गृह मन्त्रालयमा पठाएको भएपनि ५६ जनालाई बढि निगरानीमा रहेको प्रकाशन स्रोतले जनाएको छ । ठेकेदारहरुलाई समस्या परे लिखित जानकारी गराउन समेत उनले आग्रह गरे । भट्टराईले विभिन्न विषयगत कार्यालयहरुलाई पनि विवरण बुझाउन निर्देशन दिएका छन् ।
भट्टराईले बिहीबारको बैठकमा ग्रामीण सडकको निर्माणको जिम्मा लिएका ठेकेदारलाई उक्त सडक बर्खायाममा पनि सञ्चालन हुने वातावरण बनाउन निर्देशन दिएका छन् । उनले बताए । प्रजिअले गोरखा–आरुघाट–घ्याम्पेशाल, गोरखा–नाम्जुङ–फुजेल, बाह्रकिलो–भालुस्वाँरा– बारपाक, बाह्रकिलो–छोप्राक–भच्चेक सडक, बेनिघाट– आरुघाट– आर्खेत सडक, घ्याम्पेशाल–ताकुकोट– सौरपानी सडक बर्खायाममा पनि चल्ने बनाउन सम्बन्धीत निर्माण ब्यवसायीहरुलाई निर्देशन दिएका हुन् । निर्माण ब्यवसायीसंघ गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठले केही कामहरु निर्माण ब्यवसायीहरुका कारण र केही सरकारी झण्झटीलो प्रक्रियाका कारण पुरा नभएको प्रष्ट्याए । ‘म साथीहरुलाई पनि समयमै काम सम्पन्न गर्न आग्रह गर्छु’ उनले भने ‘केही काम भने सरकारी निकायबाट रकम निकासा ढिलो हुँदा पनि पुरा नभएको हो ।’
त्यस्तै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बिमल बस्नेतले नियम विपरित काम गर्ने सबैलाई कानुनी कठघरामा उभ्याएरै छोड्ने बताए ।




