
भूकम्प गएको तीन वर्षपछि पनि पैसा बाँड्दै एनजीओ
गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत गोरखामा केही संघसंस्थाहरुले राहतको रुपमा पैसा वितरणको कार्यक्रम गरिरहेका छन् ।
भूकम्पपछि सहायता कार्यक्रम लिएर आएको सिआरएस नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले साझेदारी संस्थाहरु कारितास, स्वाँरा सघन गाउँविकास केन्द्र र पद्धति विकास सेवा केन्द्र मार्फत पैसा बाँडिरहेको हो । बाख्राको खोर बनाउने बहाना बनाउँदै सिआर एसले १० हजार रुपैँयाका दरले पैसा बाँडेको स्रोतले जनाएको छ । कारितासले गोरखा नगरपालिकाको देउराली र ताप्ले बाहेकका सबै वडामा भूकम्प पुर्नलाभ तथा पुर्नस्थापना कार्यक्रमको नाममा ८५० घरधुरीमा १० हजारको दरले पैसा बाँड्ने तयारी गरेको छ ।
‘बाख्राको खोर बनाउन सहयोग गर्ने भनेर हामीले एक घरलाई १० हजार रुपैँया दिन लागेका हौँ’ कारितासका जिल्ला कार्यक्रम अधिकृत कमल श्रेष्ठले भने ‘एक महिना लगाएर बाख्राको खोर बनाउन चाहनेहरुको निबेदन संकलन गरियो । दुई वटा देखि १० वटा सम्म बाख्रा पाल्ने किसानलाई हामीले खोर बनाउन १० हजार सहयोग गर्न लागेका हौँ ।’
फिनाम र नारेश्वरमा भने ब्यक्ति छनोट गरेर वितरणको अन्तिम चरणमा पुगेको श्रेष्ठले बताए । १० हजार रुपैँया पाउने किसान छनोट गर्न भने जनप्रतिनिधीसँग समन्वय गरेको श्रेष्ठले बताए । कारितासले समाजकल्याण परिषद काठमाडौँबाट सोझै अनुमति लिई बाख्राको खोर बनाउने नाममा रकम बाँड्न लागेका हो । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बाख्राको खोर बनाउन १० हजारका दरले रकम वितरण गर्न अनुमति दिइसकेको बताए । ‘भूकम्प पिडित, एकल महिला, बृद्धबृद्धा, बाख्रा भएनभएको तथ्याङ्क लिएर मात्रै उक्त रकम वितरण हुनेछ’ उनले भने ‘हामीले उक्त रकमहरु दुरुपयोग हुन दिदैनौँ ।’
त्यस्तै स्वाँरा सघन गाउँविकास केन्द्रले पनि ८५० घर धुरीलाई १० हजारका दरले रकम वितरणको तयारी थालेको छ । गत वर्ष एक हजार तीनसय ५० घरधुरीलाई रकम बाँडिसकेको स्वाँरा सघन गाउँविकास केन्द्रले यो वर्ष पनि उक्त कार्यक्रम दोहोराएको हो । ‘पोहोर पनि १३५० घरलाई वितरण गरियो’ स्वाँरा सघनका सनोद श्रेष्ठले भने ‘कसकसलाई दिने भनेर छनोट गर्ने काम भइरहेको छ ।
१० हजार को दरले पैसा छुट्याइसकिएको छ । यसपाली ८५० घरलाई बाख्राको खोर बनाउन १० हजार दिने हो ।’ स्वाँरा सघनले साविकको तान्द्राङ आरुचनौटे आरुआर्वाङ, थुमी, लापु र मान्बु गाविसमा पैसा वितरण गर्न लागेको हो । त्यस्तै पद्धति विकास सेवा केन्द्रले पनि ६ सय भन्दा धेरै घर धुरीलाई बाख्राको खोर बनाउने नाममा १० हजारका दरले रकम बाँड्ने तयारी गरेको छ । पद्धतिले जिल्लाको ताप्ले, बुंकोट र आरुपोखरीमा बाख्राको खोर बनाउन भन्दै प्रत्येक घरलाई १० हजार रुपैँयाको दरले पैसा वितरण गर्न लागेको पद्धतिकी दुर्गा न्यौपानले जानकारी दिईन । उनका अनुसार बुंकोट र आरु पोखरीका केही घरधुरीलाई पैसा समेत दिइसकिएको छ ।
नेपाल पुननिर्माण प्राधिकरण गोरखाका शिव पौडेलले पुरानो कार्यक्रमबारेजानकारी भएपनि अहिलेको कार्यक्रमबारे जानकारी नभएको बताए । ‘पुरानो कार्यक्रमबारे थाहा थियो’ उनले भने ‘माथीबाटै अनुमति लिएर कार्यक्रम गर्नु भएको भएपनि बोदार्थ हामीलाई अनिवार्य आउँथ्यो । आएको छैन ।’