| शनिबार, कार्तिक २८, २०८३

अजीरकोट गाउँ कार्यपालिका असोजदेखि आफ्नै भवनमा सार्ने तयारी

अजीरकोट गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरेको छ । नयाँ निर्णय भएको स्थान अजीरकोटडाँडाको फेदमा १८ कोठे भवन निर्माण गरेको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।

‘अब फिनिसिङको चरणमा छौं’, अध्यक्ष धितालले भने, ‘यो कम्प्लिट भएपछि आउँदो असोजदेखि नै हामी नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेछौं ।’ अहिले निर्माण भएको भवन प्रिफ्यावको भवन रहेको उनले बताए ।
नयाँ भवनका १८ वटा कोठामा अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष, प्रशासकीय कक्ष, कार्यालयका विभिन्न शाखाका कार्यकक्षहरु निर्माण गरिएको अध्यक्ष धितालले बताए ।

कार्यपालिकाको भवन निर्माणका लागि केहीसमय अघि गाउँपालिकाले १० रोपनी जग्गा प्राप्त गरेको थियो । त्यसमध्य हाल निर्माण भएको भवनले तीन रोपनी क्षेत्रफल मात्र चर्चेको छ । ‘यो त प्रिफेबको अस्थायी भवन हो । पक्की भवनचाहिँ बाँकी सात रोपनी क्षेत्रफलमा बनाउनेछौं’, अध्यक्ष धितालले भने ।

हाल प्रिफेबको भवन निर्माणका लागि पनि दुई करोड ४० लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । ‘प्रदेश सरकारबाट प्राप्त एक करोड र जिल्ला समन्वय समितिले बिनियोजन गरेको एक करोड पन्द्रलाख रुपैयाँ खर्च गरेर यो प्रिफेब भवन बनाएका हौं’, उनले भने, ‘पक्की संरचना बनाउन त आठ, नौ करोड लाग्न सक्छ । त्यसका लागि पनि डिपिआर तयार भइसकेको छ । अब टेण्डर गरेर भवन निर्माण गर्न आव्हान गर्ने तयारीमा छौं ।’

अजीरकोट गाउँ कार्यपालिकाको भवन यसअघि भच्चेक बजारबाट सञ्चालित छ ।
सामुदायिक वन क्षेत्रमा निर्माण गर्ने कि अजीरकोट डाँडाको फेदबाट सञ्चालन गर्ने भन्ने बारे विवाद हुँदा गाउँपालिकाले अहिलेसम्म भाडामा लिएको घरबाटै कार्यालयको सेवा सञ्चालन गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्