
तल्लो भेगकाले जथाभावी नाम राखेर बिगारे
शिव उप्रेतीः चुमनुब्री ७ चुम उपत्यकाको प्राचीनमध्येको एक गुम्बा भनेर सबैजनाले म्हुगुम्बालाई चिन्छन् तर स्थानीयबासी सो गुम्बालाई ‘तेजेन रुण्डुप गुम्बा’ गन्ने गर्छन् । अन्तिम गाउँ निलेबाट दुईघण्टा हिडेपछि पुगिने यहाँ ढावाहरु मात्र बस्छन् ।
चुम उपत्यकाको आनीहरु मात्र बस्ने अर्को प्रसिद्ध ‘राजेन गुम्बा’ हो । तर त्यसको बास्तविक नाम ‘च्याङछुप छ्योलिङ गुम्बा’ हो भन्ने बारे प्रमुख लामाहरु बाहेक कमैलाई जानकारी होला । ‘रा’ को ‘अर्थ पर्खाल लगाएर राखिएको’ र ‘छेन’ भनेको फराकिलो ठाउँ हो । ‘पर्खाल लगाएर राखिएको फराकिलो ठाउँमा भएकाले त्यस गुम्बाको नाम नै राछेन नाम राखे’, निलेका प्रमुख लामा हिसे घ्याम्जो भन्छन्, ‘हुँदाहँदै अहिले त झन राजेन गुम्बा पो भन्न थाले । मिलारेप्पा गुफालाई पनि यहाँ आउने देशी, विदेशीहरु सबैले चिन्छन् । तर त्यसको पनि बास्तविक नाम पिरोन हो हो । पिरोन भन्यो भने कोही चिन्दैनन् ।’
चुम उपत्यकाकै सबैभन्दा प्राचीन गुम्बा देफीडोल्मे हो । यो आठसय बर्षभन्दा प्राचीन गुम्बा हो । तर तल्लो भेगका मान्छेले देवी डोल्मा भनेर नाम बिगारेको अर्का स्थानीय कुन्छोक लुण्डुप लामा गुनासो गर्छन् । ‘तल्लो भेगका मान्छेले सजिलोका लागि जेपायो त्यही नाम लेखिदिन्छन्’, उनी भन्छन्, ‘अझ नागरिकता, लालपूर्जा, जन्मदर्ता, मार्कसिट, सर्टिफिकेट बनाउँदा धेरै समस्या हुन्छ ।’ गाउँगाउँमा टोली गएर बनाएको नागरिकतामा यस्तो समस्या धेरै आउने उनको गुनासो छ ।
‘नागरिकता बनाउने टोली आउँदा होस् वा जग्गा नाप्ने नापी आउँदा होस्, गाउँलेले एकथोक भनिरहेका हुन्छन्, कर्मचारीले अर्कोथोक लेखिदिन्छन्’, उनी भन्छन्, ‘हुन त तिब्बती शव्द उच्चारण गर्न र जस्ताको तस्तै लेख्न अप्ठ्यारो भएर पनि हुनसक्छ ।’ यसले कागजी प्रक्रियामा धेरै समस्या झेल्नु परेको उनको भनाइ ।
‘एउटै मान्छेको एउटा कागजमा एउटा नाम लेखेको हुन्छ, अर्को कागजमा अर्को लेखेको हुन्छ । बुबाआमाको नाम पनि कागजैपिच्छे फरक फरक भइरहेको हुन्छ’, उनी भन्छन्, ‘बिचरा गाउँका मान्छे कार्यालय धाएर सच्याउँदैको हैरान हुन्छ ।’
चुमनुब्रीको मात्र होइन, बारपाक र धार्चेको पनि अधिकांश नाम तल्लो भेगका मान्छेले बिगारेर राखिदिएको स्थानीयबासीको गुनासो छ ।
‘अहिले सबैले जुन गाउँलाई बारपाक भनेर चिन्छन्, त्यसको बास्तविक नाम ‘पारा’ हो । लाप्राकको खास नाम लाम्रा हो । गाउँका मान्छेले अहिले पनि पारा, लाम्रा नै भन्छन् तर तल्लो भेगका मान्छेले बारपाक, लाप्राक लेखेर चलाइदिए’, स्थानीय धनकुमार गुरुङ भन्छन्, ‘गुम्दाको खास नाम ‘गुम्त’ यमगाउँको ‘पन्द्रङ’, लप्सीबोटको ‘यासे’ ।
खानीगाउँको ‘टोँडा’, लापुको ल्हपु, काशिगाउँको ‘तस्याङ’, केरौँजाको ‘क्याम्जा’, खोर्लाको ‘खोल’, सिङ्लाको ‘सलङ’, माछाखोलालाई ‘कलुङ’, खानीबेशीको नाम ‘गुम्सेलुङ’ हो ।’
गाउँमा गएका तल्लो भेगका शिक्षक, कर्मचारीले जथाभावी बिगारेर नाम राखिदिएको उनको भनाइ छ




