
गोरखा सदरमुकाममा निषेधाज्ञा उलंघन गर्ने २१ मोटरसाईकल प्रहरी नियन्त्रणमा
गोरखा सदरमुकाममा अन्य दिनको तुलनामा आज सवारी साधन धेरै गुड्न थालेपछि प्रहरीले चेकजाँचमा कडाई गरेको छ । सदरमुकामको हरमटारी चोकमा आज गरिएको चेकजाँचका क्रममा २१ व्टा मोटरसाईकल नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख मित्रलाल ढकालले बताए ।
‘२१ मध्ये १० वटा कागजपत्र नभएका छन्’ उनले भने ‘यी लाई जरिवाना गरेर छाड्छौँ, बाँकी ११ वटालाई बेलुकी छ बजेपछि छाड्ने योजना छ ।’ निषेधाज्ञाका बेला बिना काम हिड्नेहरुलाई निन्त्रणमा लिइएको उनले बताए ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा नगरेका, मास्क नलगाएका, बिना काममा हिँडेकाहरु कतिपय सवारी चालक अनुमती पत्र, बिलबुक समेत नभएको उनले बताए । लाईसेन्स र बिलबुक नलिई हिँडेकालाई भने ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज राती १२ बजे सम्मका लागि निषेधाज्ञा गरेपनि आज बिहानै देखी बजारमा सवारी चाप बढेको थियो । ट्राफिक र प्रहरीको टोली बिहानै देखि सडकमा सवारी चेकजाँचमा खटिएका छन् ।




