| शनिबार, कार्तिक २८, २०८३

कोरोना सोरोना थाहा छैन, भोकले मर्ने भयौँ

शिव उप्रेतीः गोरखा नगरपालिका १० नाङ्लेपानीका ७० बर्षका सुन्दरधाम तामाङ र ६५ बर्षकी मिमीजाम तामाङ बिहिबार १५ वटा थुन्से बेच्न गोरखा बजार आए । अरु बेला भए छेपेटारबाट गाडी चढेर आउथे । निषेधाज्ञाका कारण चर्को घाममा थुन्से बोकेर मान्द्रेढुंगाको उकालो चढ्दै उनीहरु १२ बजेतिर गोरखा बजार आइपुगे ।

बजारका सबै सटर सबै बन्द थिए । नबिक्ने भयो भनेर अब उनीहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्यो । ‘बजारमा एउटा पनि बिकेन’, मिमीजाम तामाङ भन्छिन्, ‘अब बरबादै भयो । नबिक्ने भयो भनेर पिरचिन्ता पर्‍यो । अनि हामी कट्टेलडाँडातिर गयौँ । त्यहाँसम्म पुग्दा १५ वटा पनि बिकेन । राती बास बस्नु पर्‍यो । यस्तो कोरोनाको डरको बेला हामीलाई कसले बास दिने ? सबै डराए ।’ मुस्किलले एउटा रित्तो घरमा रात काटेको तामाङ दम्पत्तिले बताए ।

भोलिपल्ट शुक्रबार १५ वटा थुन्से बेचेर त सके तर खाना खाने ठाउँ पाएनन् । ‘सबैको घर बन्द छ । दोकान बन्छ । चिया पनि खान पाइएन । खाजा पनि, भात पनि खान पाइएन’, बसपार्कमा साँढे १२ बजेतिर लखतरान अबस्थामा भेटिएका सुन्दरधाम भन्छन्, ‘भोकभोकै चर्को घाममा गोरखा बजार आइपुग्यौँ । यहाँ पनि कसैको दोकान पनि खुलेको थिएन । गाडी पनि चलेको थिएन । बजारमा मान्छे पनि ठप्पै थियो । भोकले रोडमै लडेर मरिन्छ कि भन्ने डर लाग्यो ।’ खल्तीमा पैसा हुँदाहुदै भोकले मरिन्छ कि भनेर डर लागेको उनीहरुको गुनासो थियो ।

काम गरेर खान पनि सकस भएको उनीहरुको गुनासो थियो । ‘यति दुख गरेर लम्जुङको लेकमा गएर निगालो काटेर ल्याइयो । दुईचार पैसाको मुख देख्न पाइन्छ कि भनेर थुन्से बुनियो । बेच्ने बेलामा यस्तो बरबाद’, तामाङले भने, ‘हिड्न पनि नपाउने, बाटोमा खान पनि नपाउने हो भने अब कसरी डाला, थुन्से बेचेर खाने त हामी ? हामी गरिबले गरेर त खान पाउनु पर्‍यो नि ।’ कोरोना भन्दा भोकमरीको चिन्ता भएको तामाङ दम्पत्ति बताउँछन् । ‘हामीलाई कोरोना, सोरोनाको डर छैन । भोकमरी लाग्छ कि भन्ने मात्रै डर छ’, मिमीजामले भनिन्, ‘हामीलाई गरिखान देओ । रोगबाट कसरी बच्ने हामीले नि जान्याछम् ।’

उनीहरुलाई बिसौनीमोडका फेन्सी व्यवसायी सागर अन्सारीले एउटा होटलमा खाना बनाउन लगाएर खाना खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्