| शनिबार, कार्तिक २८, २०८३

गोरखामा कर कार्यालय स्थापना

दराैँदी समाचारदाताः कर सेवाग्राहीको हितलाई ध्यानमा राखी सरकारले गोरखामा कर सेवादाता कार्यालय स्थापना गरेको छ । गोरखा नगरपालिका वडा नं. ६ तीनधारेमा गत भदौ १ गतेदेखि कार्यालय स्थापना गरेको कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए ।

‘कार्यालय स्थापना भइसकेको छ’, कर अधिकृत खड्काले भने, ‘निषेधाज्ञाको समय चलिरहेकाले सेवा प्रबाह भने गर्न सकिएको छैन ।’ सेवा सुचारु भएपछि प्यान नम्बर वितरण गर्ने, कर लिने, करचुक्ता प्रमाणपत्र प्रदान गर्ने सबै काम यहीँबाट हुने उनले बताए ।

‘कर नतिरेको, हिनामिना गरेको तथा अडिटमा समस्या देखिएको अबस्था बाहेक कर लिने, प्यान नम्बर दिने, करचुक्ता प्रमाणपत्र दिने सबै काम हाम्रो कार्यालयबाट हुन्छ’, कर अधिकृत खड्काले भने, ‘सबै काम कम्प्यूटरबाट हुने भएकाले पेपरलेस प्रविधिबाट काम गर्ने छौँ ।’
यसअघि कर सम्बन्धी कामका लागि गोरखा उद्योग वाणिज्य संघ र गोरखा च्याम्बर अफ कमर्शको समन्वयमा दमौलीस्थित कार्यालय पुग्नुपर्ने अबस्था थियो । तर कार्यालय नै स्थापना भएपछि करदाता स्वयं कार्यालयमा उपस्थित भई कर तिर्न सक्ने भएको छ ।

ग्राहकको चापलाई ध्यानमा राखी कर सेवादाता कार्यालयमा वाणिज्य वैँकको काउण्डटर नै सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्