| शनिबार, कार्तिक २८, २०८३

मनास्लु क्षेत्रमा लुप्तप्राय, अति खतरा तथा अति संकटको सूचीका जनावर

दराैँदी समाचारदाताः मनास्लु क्षेत्रमा लुप्तप्राय, अतिजोखिममा रहेका, अति संकटमा रहेका जनावरहरु पनि रहेका छन् । अध्ययन, अवलोकनको क्रममा त्यस्ता अति संकटासन्न जनावर पनि भेटिने गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।

‘लुप्तप्रायको सूचीमा रहेका कस्तुरी, अत्यन्त खतराको सूचीमा रहेको ब्वाँसो, हिमचितुवा, चिरु र रातो भालु पनि मनास्लु क्षेत्रमा पाइन्छ’, एमक्याप प्रमुख नरेन्द्र लामाले भने, ‘खतराको सूचीमा रहेको हिमाली कालो भालु र हाब्रे, खतरान्मुख रहेको घोरल, झारल, र जोखिमको सूचीमा रहेको असामी बाँदर र रतुवा(मृग) पनि मनास्लु क्षेत्रमा भेटिन्छ ।’ दुईसय भन्दा धेरै प्रजातिका चरा पाइने मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ । चुमनुब्री गाउँपालिकाका सातवटै वडामा गरी दुई संरक्षितसहित दुईसय एक प्रजातिका चरा पाइने एमक्यापका प्रमुख लामाले जानकारी दिए ।

उनकाअनुसार मनास्लु क्षेत्रमा छ संरक्षितसहित ३९ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । आठ हजार मिटर भन्दा अग्लो ठाउँको हावापानी पाइने यहाँ १३ प्रजातिका पुतली, चार प्रजातिका उभयचर, एक प्रजातिका माछा, पाँच प्रजातिका सरिसृप, र सातसय ५६ प्रजातिका वनस्पति रहेका एमक्यापका प्रमुख लामाले जानकारी दिए । अत्यन्त महत्वपूणर् जनावर रहेको सो क्षेत्रमा चोरी शिकारीको काम पनि लुकिछिपी हुने गरेको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्