
एकीकृत बस्ती निर्माणको कामले गति लिएन
दराैँदी समाचारदाताः विशेषगरी भूकम्पपछि धेरै ठाउँमा एकीकृत बस्ती निर्माण गर्ने चर्चा चल्यो । कतिपय ठाउँमा हल्लामै हरायो, कतिपय ठाउँमा निर्माणको प्रक्रिया सुरु भयो । तर लामो समय भइसक्दा पनि एकीकृत बस्ती निर्माणको कामले अपेक्षित गति लिन सकेन ।
हालसम्म एकीकृत बस्ती निर्माण तर्फ १६ करोड ७० लाख बजेटमध्ये गत वर्ष २५ प्रतिशत मात्रै खर्च भएको छ । यो पनि पालुङटारको सामुहिक आबास गृह निर्माणका कारण देखिएको प्रगति हो । धार्चेको केरौँजाबाट विस्थापितलाई पुर्नस्थापना गर्ने गरी लामाबेसीमा पूर्वाधार बनाउने योजना अघि बढ्न सकेन । त्यहाँका भौगोलिक प्रतिबेदन पुन निर्माण प्राधिकरणमा पेश भएको तर कसरी काम थाल्ने भन्ने निणर्य नहुँदा समस्या भएको जिल्ला आयोजना कार्यन्वयन इकाई भबनकी प्रमुख सुनिता श्रेष्ठले बताईन ।
लाप्राकको गुप्सीमा एकीकृत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको तर बगुवाको मिलन बस्तीको काम अत्यन्तै सुस्त गतिमा अघि बढेको कार्यालयले जनाएको छ ।
एकीकृत बस्तीको आवश्यकता परेकाहरुले यसअघि नै निजी आवास निर्माण गरिसकेकाले बस्ती निर्माणमा स्थानीयको चासो कम देखिएको हो ।
यस वर्ष चुमनुब्री गाउँपालिकाको देवलका ११ घर, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाको बगुवा, धार्चेको केरौँजा र लाप्राकमा एकीकृत बस्ती बिकास कार्यक्रम अन्र्तगत काम हुने भएको छ । एकीकृत बस्ती निर्माण र पूर्वाधारमा खर्च गर्ने गरी बजेट आएको इकाई प्रमुख श्रेष्ठले बताईन ।
सार्वजनिक भबन निर्माणमा भने सत प्रतिशत प्रगति गरेको छ । नौ वटा सरकारी भबन गत वर्ष निर्माण सम्पन्न गरिएको इकाईले जनाएको छ । भुकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माण भईरहेको भुकम्प स्मृति पार्कको करिब ८० प्रतिशत प्रगति रहेको इकाई प्रमुख श्रेष्ठले बताईन । १३ करोड ६ लाखमा उक्त पार्क निर्माण हुँदैछ ।




