
जतिबेला पनि जान सक्छ गोरखाको बिजुली
लगातारको वर्षापछिको पहिरोले गोरखाको विद्युत प्रशारण लाईनमा जोखिम बढेको छ ।
आँबुखैरेनी हुँदै गोरखासम्म ल्याइएको ३३ केभि क्षमताको विद्युत प्रशारण लाईनको चार ठाउँमा पहिरोले पोल जोखिममा पारेको छ । जसका कारण जतिबेला पनि गोरखामा बिजुली बत्ती जाने वा पुरै जिल्ला अन्धकार हुने खतरा छ ।
मुख्य तथा शाखा लाईनको धेरै ठाउँमा समस्या आएको नेपाल विद्युत प्राधिकरण गोरखा बितरण केन्द्र प्रमुख माधव न्यौपानेले बताए ।
बिहिवार साँझ वर्षात र हावाहुरीले बिजुली ३३ केभि लाईनमा क्षती पुग्दा करिब चार घण्टा गोरखामा बिजुली बत्ती अवरुद्ध भएको थियो ।
‘गोरखा खैरेनीको चार ठाउँमा उच्च जोखिम छ’ केन्द्र प्रमुख माधव न्यौपाने भने ‘तत्काल मर्मत गरेर सुक्षित गर्न सक्ने अवस्था छैन ।
पहिरोले थप क्षति हुँदै गएको छ ।’ मझुवा, अबुवा, चारकिलो, दशकिलोमा मुख्य लाईनमा समस्या आएको हो । ‘जुनसुकै बेला ३३ केभि अवरुद्ध हुन सक्ने स्थिति छ’ उनले भने ।
४२ हजार आठ सय नौ घर धुरीका ग्राहक रहेको बितरण केन्द्रले वर्षात यता अझै पाँच प्रतिशत ग्राहकलाई बिजुली दिन सकेको छैन ।




