| शनिबार, कार्तिक २८, २०८३

बाटैभरि धरापै धराप

शिव उप्रेतीः बिगतभन्दा यो बर्खा महिनामा धेरै पहिरो झर्यो । विशेषगरी उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा ठूलो र धेरै पहिरो गयो ।
सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका र अलिअलि सडकले छोएपनि यातायातका साधन नचल्ने धार्चे गाउँपालिकामा अहिले हिड्ने बाटोसमेत धेरै ठाउँमा पहिरिएका छन् ।

माथिबाट बाटोमा खस्ने पहिरो र बाटै पहिरिएर बूढीगण्डकीमा खस्ने समस्याले दुई गाउँपालिकाका बासिन्दा समस्यामा छन् । ‘हावाडाँडाबाट माथि लागेपछि धेरै जोखिम छ’, धार्चे गाउँपालिका ५ माछाखोलाका धनकुमार गुरुङ भन्छन्, ‘कतै जानु पर्यो भने, मानि आएका देवदेवता, पितृदेवता सम्झेर, सास रोकी रोकी हिड्नुपर्छ । भाग्यले पहिरो कटियो भने पनि फेरि त्यही बाटो कसरी फर्कने भन्ने पिरले निद्रै लाग्दैन ।’ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री बोक्ने एकमात्र साधन खच्चड पनि पहिरोमा परेर धेरै मरेको उनले बताए ।

विशेषगरी धार्चे २ दोभानस्थित पदमार्ग पहिरिएपछि आवतजावत गर्न कठिन भएको अर्का स्थानीय सोमकाजी गुरुङको भनाइ छ । ‘पहिरो पनि सानो छ र ? करिब करिब पाँचसय मिटर फराकिलो छ । दौडेर पहिरो कट्छु भन्न पनि नसकिने’, उनी भन्छन्, ‘एकजनाले छेउमा बसेर पहिरो हेर्ने, अर्को कुद्ने गर्दै हिड्नुपर्छ । केहीदिनअघि माथिबाट खसेको पहिरोमा पुरिएर त्यहाँ हिडिरहेको मान्छे मरेको घटना उनले सुनाए । ‘सिर्दिबासको फिलिम चिसापानीनेरको पहिरोले हिड्न सक्ने बाटै छैन’, उनी भन्छन्, ‘धेरै उकालो हिडेर पहिरोको शीरभन्दा माथिबाट हिड्नुपर्छ । पानी पर्दा पनि नपर्दा पनि हिडिरहेका बेलामा गुटुटु पहिरो खसिरहन्छ । साह्रै जोखिम छ ।’ पहिरो छल्दै हिड्दा साबिकको भन्दा दोब्बर समय लाग्ने उनले बताए ।

घोबाट फिलिम पुग्ने बेलाको चौँरीखर्कको बाटो झन खराब रहेको चुमनुब्री गाउँपालिका ७ छेकम्पारका वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् । ‘तीन चार बर्ष भयो यो बाटो जोखिम भएको । कुनबेला पहिरो खस्छ केही थाहै हुन्न । हिडिरहेका बेला पहिरो खस्दा यसअघि धेरैजना घाइते समेत भए’, उनले भने, ‘हामी दुर्गमका बासिन्दा धेरै ठूलो माग पनि गर्दैनौं । घाँसदाउरा, मेलापर्म गर्न नडराईकन हिड्न सक्ने सजिलो गोरेटो, घोडेटो बाटो होओस् । आठ बर्षअघि हेलिकोप्टरले बोकेर ल्याएको डोजर थन्किएर बसेको छ । त्यसले तिब्बतको सीमानासम्म सडक खन्दिए पनि हामीलाई ठूलो राहत हुने थियो ।’

चुम्चेतको सर्दीभीरमा ठाउँठाउँमा पहिरो जाँदा स्थानीयबासीलाई आवतजावत गर्न कठिन भएको त्यहाँका वडाअध्यक्ष लोप्साङ लामाले जानकारी दिए । ‘जता हिडे पनि हिड्नै नसक्ने धरापै धराप छ’, उनी भन्छन्, ‘एउटा गाउँबाट अर्को गाउँ जाँदा पनि फर्किने हो कि होइन, काममा जाँदा पनि फर्किने हो कि हैन भन्ने डर लाग्छ ।’ सरकारले सर्दीभीरको बाटो सजिलो बनाइदिए स्थानीयबासीलाई धेरै राहत हुने उनले अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस्