
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन गोरखाद्वारा कडाई (यस्तो छ नियम)
आषिश कुमार भट्टः कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापन संम्बन्धि गोरखा जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले कोभिड १९ को संक्रमण बढेपछि सार्वजनीक गतिविधीमा कडाई गर्ने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्ला भित्रका धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य गतिविधी प्रतिबन्ध गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयबाट अत्यावश्यक सेवा बाहेक तत्कालका लागि अन्य काम बन्द गर्ने निर्णय गरेको छ ।
चाडपर्व आफ्नो परिवार र घर भित्र मात्रै मनाउन समेत प्रशासनले अनुरोध गरेको छ । विद्यालय कलेज ट्यूसन सेन्टर, तालिम केन्द्र संचालन गर्न नपाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए । सबै प्रकारका तालिम, गोष्ठी, भेला सेमिनार संचालनमा पूर्ण रोक लगाइएको छ । ब्यूटि पार्लर जिमखाना, सामुयिक रुपमा खेलीने खेलकुद सबै प्रतिबन्द गरिएको उनले बताए ।
फुटपात, खुल्ला ठाउँमा बिक्री गरिएको तरकारी, ठेला ब्यापार लगायत पनि गर्न नपाउने निर्णय बैठकले गरेको हो । कवाडी संकलन, घरघरै खुद्रा गरिने ब्यापार पनि तत्कालका लागि रोक्न प्रशासनले अनुरोध गरेको छ । यस्ता गतिविधीले मानिसको भिडभाड बढ्ने, कोभिड १९ को जोखिम हुने निश्कर्ष सहित प्रशासनले प्रतिबन्द गर्नु परेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । जमघट र भेटघाट समेत नगर्न प्रशासनले अनुरोध गरेको छ । प्रतिबन्धित गरिएका गतिविधी संचालन भए÷नभएको अनुगमन गर्ने र भए गरेमा संक्रामक रोग ऐन अन्र्तगत कारवाही गरिने प्रजिअ भट्टराईले बताए ।
सरकारी कार्यालय, स्थानीय तहबाट सेवा प्रदान गर्ने क्रममा हुन सक्ने भिडभाड रोक्न दुरी कायम गराउने, सुरक्षाका मापदण्ड पुरा गर्न लगाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।




