| शनिबार, कार्तिक २८, २०८३

कस्तो माटोमा के खेती गर्ने, मल कति राख्ने ! कृषि ज्ञान केन्द्रमा माटो जाँच सुरु

दराैँदी समाचारदाताः कृषिजन्य उत्पादन बढाउन कृषि ज्ञान केन्द्र गोरखाले कार्यालयमा माटो जाँच सुरु गरेको छ । माटोको उत्पादन क्षमता बढाउन र ह«ास न्यूनिकरण गर्न ज्ञान केन्द्रले यो सेवा सुरु गरेको कार्यालय प्रमुख मनिता थापाले बताईन ।

‘माटोको उत्पादन क्षमता थाहा हुन्छ, कुन खेतीबाली लगाउँदा राम्रो हुन्छ भन्ने पनि ज्ञान हुन्छ’ उनले भनिन् ‘माटोको उपचार गर्न पनि सजिलो हुन्छ ।’ यसरी माटो जाँच गर्न ल्याउँदा किसानले आफ्नो पालिका वा ज्ञान केन्द्रका कृषि प्राविधिक सँग सुझाब लिनुपर्छ । माटोमा प्राङ्गारीक पदार्थ, नाईट्रोजन, फस्फोरस, पोटास लगायत के ÷कति भन्ने यकिन जाँच गरेपछि थाहा हुन्छ । ‘यो यकिन भएपछि आवश्यक मलखाद कुन प्रयोग गर्ने भन्ने सिफारिस गरिन्छ । किसानले परीक्षण शुल्क बापत ७५ प्रतिशत छुट पाउने ब्यवस्था छ । अधिकासं किसानले पाँचवटा नमुना परीक्षण गर्छन र त्यसबापत छुट सहित ९३ रुपैयाँ शुल्क बुझाउनुपर्छ ।

‘धान खेती लगाउँदा, मकै कोदो अन्य खेतीमा मल कति हाल्ने ? जमिनमा कति मलको मात्रा छ भन्ने यकिन किसानले गर्दैनन’ ज्ञान केन्द्रकी प्रमुख थापाले भनिन् ‘माटो जाँच गरेपछि हामी सबै कुरा बताईदिन्छौँ ।’ किसानको माटोको अवस्था के छ ? कति मल राख्नुपर्छ, कस्तो खेती लगाउनु उपयुक्त हुन्छ ? भन्ने प्राविधिकले रिपोर्ट हेरेर बताईदिन्छन् । कार्यालय आउन समस्या हुने किसानलाई मोवाईलमा वा टेलिफोनबाट पनि रिपोर्टबारे ज्ञान केन्द्रका प्राविधिकले जानकारी दिने ब्यवस्था कार्यालयले गरेको छ ।

एक महिना भरी जम्मा भएका माटोको नमुना एकै पटक जाँच गरिनेछ । जनशक्ति कम भएकाले मासिक एक दिन परीक्षण गर्ने योजना बनाएको ज्ञान केन्द्रले जनाएको छ । जिल्ला भित्रका कृषकलाई मात्र सेवा दिईनेछ । ‘गत वर्षदेखि प्रयोगशालाको पूर्वाधार निर्माण गरेका थियौँ’ उनले भनिन् ‘अहिले हामीले परीक्षण गर्न थालेका छौँ ।’ सन्तुलित मलखादको प्रयोग गर्न माटो परीक्षण आवश्यक रहेको उनले बताईन । यस अघि माटो परीक्षण गराउन माटो तथा मल परीक्षण प्रयोशाला पोखरा पठाउनुपथ्र्यो ।

प्रतिक्रिया दिनुहोस्