| शनिबार, कार्तिक २८, २०८३

कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा सकस, सिडियोद्वारा अनुगमन

दराैँदी समाचारदाताः कोरोनाको त्रास बढ्दै गएपछि कारागार गोरखामा रहेका कैदीबन्दीलाई आफन्त सँग भेटघाट बन्द गरिएको छ । कैदीबन्दीले आफन्त सँग लामो समय देखि भेट्न नपाउँदा, बाहिरबाट परिवारले ल्याईदिने खाद्यान्न, पैसा लिन नपाउँदा समस्या भएको बताएका छन । आफन्तलाई कारागार भित्र कुनै समस्यामा परेको छ कि, बिसन्चो भएको छ कि भन्ने चिन्ता परिवारलाई परेको छ’ बुधवार कारागार अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारीलाई एक बन्दीले भने ।

अहिले कारागारमा एक सय दुई जना कैदीबन्दी मध्ये ७ जना महिला छन् । ५५ जना अट्ने कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा दैनिक कामकाजमा समस्या भएको गुनासो कैदीबन्दीको छ । कोरोनाको त्रासका कारण कैद सजायाँ भुक्तान गर्न बाँकीहरुलाई कोरोना परीक्षण पछि मात्रै कारागार पठाउने गरिएको निमित्त जेलर रबिलाल सुवेदीले बताए । ‘अहिले पनि तीन जना कारागारमा राख्नुपर्ने ब्यक्ती प्रहरी हिरासतमा छुट्टै हुनुहुन्छ, उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै यहाँ ल्याउँछौँ’ उनले भने ।

पछिल्लो समय गोरखा प्रहरीले अदालतबाट सजायाँ तोकिएका तर फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालेपछि अदालतमा बन्दीको संख्या बढेको छ । १० जनाको दरबन्दी रहेको कार्यालयमा करारका ४ जना कार्यालय सहयोगी सहित ७ जना कार्यरत छन् । अहिले कैदीबन्दीलाई चाहिने सामग्री जेलरले बजारमा ल्याउने गर्छन । ‘हामी सुरक्षित हुन पनि भेटघाट गरेका छैनौँ’ नाईके गोपालबहादुर बरामले भने ‘धेरै संख्यामा हुँदा खान, बस्न, शौचालयको समस्या छ ।’ ठाउँ साँघुरो भएकाले मुडा बुन्ने, सिलाई कटाई गर्ने लगायतका कामलाई भने समस्या भएको गुनासो कैदीबन्दीले गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङ, सहायक प्रजिअ देवी पाण्डे लगायतको टोली कारागार निरीक्षण गर्न पुगेका थिए । प्रमुख जिल्ला अधिकारीले कुनै समस्या भएमा जानकारी गराउन आग्रह गर्दै पुस्तकालयमा किताब थप्ने, रङ्गरोगन, सिपमुलक तालिम लगायतका काममा सहयोग गर्ने आश्वासन दिए । कैदीबन्दीलाई उनले कुनै गुनासो भए बताउन र आफुले समाधानको पहल गर्ने बताए ।

अहिले लकडाउनका कारण कैदीबन्दीले बुनेको मुढा पहिले भन्दा कम बिक्री भएको छ । जिल्ला आयोजना कार्यन्वयन ईकाई भबनले नयाँ कारागार निर्माण गर्ने कार्यक्रम भएपनि अझै सुरु भएको छैन । नयाँ निर्माण गर्दा पुरानो भत्काउनुपर्ने र त्यतीबेला कैदीबन्दीलाई राख्ने ठाउँको समस्या हुने भएकाले सुरु गर्न ढिलो भएको हो ।

प्रतिक्रिया दिनुहोस्