| शनिबार, कार्तिक २८, २०८३

गोरखाका १० वटा होटलले दर्ता खारेज गरे

दरौँदी समाचारदाताः कोभिड १९ को प्रभावका कारण ब्यवशाय संचालन नभएपछि गोरखामा १० वटा होटलले दर्ता खरेज गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७६/७७ को साउन महिना सम्म पालुङटार नगरपालिका भित्रका चार, गोरखा नगरपालिकाका तीन, बारपाक सुलिकोट, शहिदलखन र गण्डकी गाउँपालिकाका एक/एक वटा होटल दर्ता खारेज भएका छन् ।

‘संचालन हुँदा सम्मको करचुक्ता सहित बिवरण लिएर ब्यवशाय बन्द, अर्थात खारेज गरिपाउँ भनेर निवेदन दिएपछि हामीले खारेज गरिदिन्छौँ’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलले भने । गत वर्ष बाणिज्य तर्फ २६ र उद्योग १३ वटा खारेज भएका मध्ये सबैभन्दा धेरै होटल ब्यवशाय छन् । कतिपय भने मदिरा बिक्री गर्न होटल दर्ता गरेको र करको कागजात मिलाउन झन्झट भएपछि ब्यवशाय बन्द गर्नेहरु पनि छन् ।

गत साता सम्म गोरखामा उद्योग तर्फ पाँच हजार ४६ र बाणिज्य तर्फ चार हजार नौ सय १३ वटा फर्म घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । आफैँ उत्पादन गर्ने खालका उद्योगमा दर्ता हुन्छन् भने तयारी उत्पादन बिक्री गर्ने फर्म बाणिज्यमा दर्ता हुने गरेको छ । उद्योग तर्फ गत वर्ष दर्ता भएका सात सय ७५ मध्ये कृषि फार्म तीन सय १६ वटा रहेको छ । बाणिज्य पुरुषको नाममा धेरै दर्ता भएको देखिन्छ भने राजस्व कम लाग्ने भएकाले उद्योग महिलाको नाममा धेरै दर्ता हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्