
बूढीगण्डकी आयोजना कार्यालयलाई सरोकार समितिको १३ बुँदे मागपत्र
दराैँदी समाचारदाताः राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणमा अझै ४० प्रतिशत काम बाँकी रहेको छ । आयोजना कार्यालयले मुआब्जा बितरणको ९५ प्रतिशत काम सकिएको भन्दै दुष्प्रचार गरेको राष्ट्रिय सरोकार समितिको निश्कर्ष छ ।
सरोकार समितिका अध्यक्ष हरेराम ढकालले सोमवार बिज्ञप्ती जारी गर्दै आयोजनाको वातावरण मुआब्जा बितरण, पुर्नबास तथा पुनस्र्थापना ईकाईले कछुवा गतीमा काम गरेको बताए ।
बिभिन्न १३ बुँदे माग आयोजना कार्यालय, उर्जा मन्त्रालय र सरकार सँग पेश गरिएको सरोकार समितिले जनाएको छ ।
यी हुन् सरोकार समितिको मागहरु
१. मुआब्जा पाउन बाँकी जग्गाधनीलाई मुआब्जा दिइयोस् ।
२. मुआब्जा दिँदा केही कित्ता छुटाएर मुआब्जा दिइएका सयौं जग्गाधनीको पाउन बाँकी कित्ताको मुआब्जा दिइयोस् ।
३. मूल मोटरबाटोले छोएको जग्गा, घरबस्ती भएको जग्गा, सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले निर्धारण गरेकै दररेटअनुसार दिइयोस् ।
४. मुआब्जा समितिको निणर्यअनुसार ५ रोपनी भन्दा कम जग्गा हुनेलाई १५ प्रतिशत र १० रोपनी भन्दा कम जग्गा हुनेलाई १० प्रतिशत मुआब्जा थप गरियोस् ।
५ दर्ता छुट भएका तर व्यक्तिले भोगचलन गरिरहेका जग्गाको मुआब्जा दिइयोस् ।
६. ऐलानी जग्गामा बसोबास गरेका व्यक्तिलाई निश्चित मापदण्ड बनाएर मुआब्जा दिने मन्त्रिपरिषदको निणर्य कार्यान्वयन गरियोस् ।
७. डुवान क्षेत्रका जग्गामा रहेका घर, गोठ, संरचना, बोटविरुवाको मुआब्जाको दररेट तय गरी तत्काल वितरण गरियोस् । घर, संरचनामा लाग्ने ह्रासकट्टी मिनाहा गरियोस् ।
८. बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइले कर्मचारी नियुक्त गर्दा सार्वजनिक सूचना जारी गर्नुपर्ने र उपलब्ध भएसम्मका जनशक्ति बुढीगण्डकी डुवान क्षेत्रका वासिन्दामध्येबाट नियुक्त गरियोस् ।
९. कानुन विपरीत डुवान क्षेत्रका जग्गाको मुआब्जामा एकमुस्ट लिइएको पुँजीगत लाभकर फिर्ता गरियोस् ।
१०. मुआब्जा वितरणका क्रममा निजी बैंकहरुले गरेको ज्यादती बन्द गरियोस् ।
११. मुआब्जा निर्धारण गर्दा जिल्ला मुआब्जा समिति गोरखा र जिल्ला मुआब्जा समिति धादिङले मन्त्रिपरिषदलाई गरेका सबै सिफारिस कार्यान्वयन गरियोस् ।
१२. पुनर्बास, पुनस्र्थापनाका लागि डुवान क्षेत्रका वासिन्दाको सहमतिमा उपयुक्त स्थानमा जग्गा अधिग्रहण गरी काम अघि बढाइयोस् ।
१३. बुढीगण्डकी रिङरोडको काम तत्काल अघि बढाइयोस् ।




